सुनसरी/ केही दिनयता देशभर गर्मी बढिरहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही ठाउँमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आगामी केही दिनसम्म तराई भेगमा अत्याधिक गर्मीको सम्भावना रहेको महाशाखाले जनाएको छ। आगामी ३ दिन (जेठ १८ गते)सम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको छ। 

गर्मीबाट बच्न आवश्यक तयारी गर्न पनि महाशाखाले अनुरोध गरेको छ। तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने र बान्ता आदि हुनसक्ने महाशाखाको भनाई छ। 

यसबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो ठाउँमा रहन, बाहिरी वातावरणमा बढि नजान र हल्का लुगा लगाउन महाशाखाले अनुरोध गरेको छ। 

यस्तै, सुती कपडा लगाउन, बाहिर निस्कँदा टाउको छोप्न, टोपी लगाउन, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रहि थप सल्लाह सुझाव लिनसमेत महाशाखाले अनुरोध गरेको छ।