भोजपुर/ ‘हेर्ने कथा’ को ‘हराएका वर्षहरू’का पात्र प्रकाश तामाङलाई उनकै घरमा पुगेर सरकारी टोलीले आइतबार नागरिकता प्रदान गरेको छ। भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर १० साङपाङको छाप्लेगाउँ स्थित तामाङ्गको घरमै पुगेर टोलीले आवश्यक प्रक्रिया पुरा गरी नागरिकता प्रदान गरेको हो ।

लगभग ३३ वर्ष हराएका ४३ वर्षीय प्रकाशलाई षडानन्द नगरपालिका मेयर सुरेन्द्र कुमार उदास, वडाध्यक्ष प्रेम दोर्जी शेर्पा, इलाका प्रशासन कार्यालयका प्रमुख बिनोद अधिकारी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईंसहितको टोलीले नागरिकता प्रदान गरेको थियो ।

परिवारसँग लामो समय छुटिएका प्रकाश शनिवार काठमाण्डौबाट हवाई उडानमा सङ्खुवासभाको तुम्लिङटार विमानस्थल हुँदै भोजपुरमा रहेको घरमा आएका थिए। नागरिकता प्रदान गर्दै मेयर उदासले नगरपालिकाको तर्फबाट आगामी दिनमा पनि प्रकाश र परिवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । सो क्रममा प्रकाशले अवका दिनमा गाउँमै रहेर खेती किसानी गर्ने मनसाय राख्नु भएको थियो ।

(यो समाचार रेडियो नेपालका लागि भोजपुरबाट निरोज कोईरालाले लेख्नुभएको हो -सम्पादक)