बेलबारी/ इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक गुणराज बुढाथोकी कारबाहीमा परेका छन् । शक्तिको दुरुपयोग गरेको भन्दै बुढाथोकीलाई प्रहरी प्रधान कार्यालयले कारबाही गरेको हो ।
बुढाथोकीलाई तीनदिन भित्र दंगा नियन्त्रण गण दुहवीमा हाजिर हुन भनिएको र बेलबारीमा जिल्ला प्रहरी कार्यालय बिराटनगरमा कार्यरत ऋषिराज ढकाललाई खटाईएको प्रहरीले जनाएको छ । प्रहरी श्रोतले भने बुढाथोकी कारबाही नगरेको भन्दै काज सरुवा मात्र भएको दावी गरेको छ ।
बुढाथोकी बेलबारी आएदेखी नै शक्तिको दुरुपयोग गर्दै दादागिरी शैलिमा प्रस्तुत हुने गरेका थिए । बाहिर सिंहम इन्सपेक्टर भनाउँदै निजी घुमुवा राखेर असुली धन्दा नै चलाउँदै आएका थिए । सो बिषय केहि समय अगाडी पूर्वी खबरले प्रकाशित गरेको थियो ।
त्यसबेला मोरङका प्रहरीका प्रमुख बिश्व अधिकारीको बिशेष निगाह पाएका बुढाथोकी कारबाहीबाट बचेका थिए । त्यसबेला घुमुवा प्रहरी हवल्दार पदम बिष्ट भने कारबाहीमा परेका थिए ।
केहिदिन पहिला बुढाथोकीले बिराटनगरमहानगरपालिकाका मेयरका स्वकिय सचिव त्रिभुषण गिरीलाई इप्रका बेलबारीमा दिनभर थुनेका थिए । इन्स्पेक्टर बुढाथोकीले आफ्नी श्रीमतीलाई गिरीले जिस्क्याएको भन्दै मेयरका स्वकीय सचिव गिरीलाई बैशाक ३ गते दिनभर हिरासतमा थुनेका थिए ।
इलाका प्रहरी कार्यालय बेलवारीका इञ्चार्ज इन्स्पेक्टर बुढाथोकीले शक्तिको दुरुपयोग गर्दै श्रीमती जिस्क्याएको आरोपमा थुनेपछि नेपाल प्रहरीले बिभागिय कारबाही गरेको हो । बिराटनगर बस्दै आएका गिरीले प्रहरीको श्रीमती जिस्क्याएको मौखिक उजुरी प्रहरीमा परेको थियो । त्यसबारे पहिले वडा प्रहरी कार्यालय बिराटनगरमा प्रहरी र गिरीबीच छलफल भएको थियो ।
थप छलफलका लागि इलाका प्रहरी बेलबारीले गिरीलाई बोलाएपछि उनी बैशाक ३ गते बुधबार दिउँसो बेलबारी पुगेका थिए । आँफै छलफलका लागि पुगेका गिरीलाई इप्रका बेलबारीले दिनभरि हिरासतमा (गैरन्यायिक हिरासत) राखेर साँझ मात्र रोहवरमा छाडेको थियो ।
गिरीले भने आफूमाथि लागेको आरोप निराधार भएको बताउँदै आएका छन् । उनले आफ्नो इस्टाग्रामको आइडी कसैले दुरुपयोग गरेको बताएका छन् । वडा प्रहरी कार्यालयमा सामान्य छलफल हुँदा गिरीले पाठएको भनिएका म्यासेजहरु आपत्तिजनक नदेखिएको बताइएको छ । बेलबारीका इञ्चार्जले शक्तिको दुरुपयोग गर्दै गिरीलाई बोलाएर बिनाकारण थुनामा राखी मानसिक यातना दिएको त्यतिबेलै सार्वजनिक भएको थियो ।