काठमाण्डौ/  नेपाल कम्युनिष्ट पार्टी एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले राजनीतिक निकासको लागि कांग्रेस र एमालेले सहकार्य गरेका बताउनुभएको छ। नेकपा एमाले स्कुल विभागद्वारा हुम्लाको सिमिकोटमा आयोजित प्रशिक्षण कार्यक्रममा ज्ञवालीले त्यसो भन्नुभएको हो।

उहाँले अस्थिरता, भ्रष्टाचार र अर्थतन्त्रमा आएको शिथिलताबाट मुलुकलाई निकासा दिन एमाले र कांग्रेस मिलेर सरकार बनाएका बताउनुभयो। उहाँले कांग्रेस र एमाले मिलेर देशलाई स्थिरता दिने दाबी गर्नुभयो। 

नयाँ सरकार बनेपछि केही सकारात्मक सङ्केत देखिएका उहाँले स्पष्ट पार्नुभयो। वर्तमान सरकार गठनपछि मुलुकमा सकारात्मक सङ्केत देखिएका भन्दै ज्ञवालीले जनतामा विश्वास बढेको र सहकारीमा ठगिएका पीडितका लागि न्यायका पक्षमा कारबाही शुरु भएको बताउनुभयो। उहाँले बिकास निर्माण शुरु हुनुका साथै अन्तर्राष्ट्रियस्तरका सम्बन्ध सुदृढ भएको बताउनुभयो।

कांग्रेस र एमाले मुलुकका मुख्य प्रतिस्पर्धी पार्टी भएपनि अहिलेको सहकार्य आवश्यकताका आधारमा भएको उहाँको भनाई छ। २०४६ को आन्दोलन संविधान संशोधन, विभिन्न निर्वाचनदेखि  माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने र संविधान निर्माण लगायतका विषयमा दुई पार्टी मिलेका उहाँले स्मरण गराउनुभयो।