इटहरी/ सुनसरीको इटहरी बस्ने २७ बर्षीया सुस्मिता श्रेष्ठ थापा ठगि आरोपमा पक्राउ परेकी छन्। इटहरीमा बसोबास गर्ने एकजना महिलाको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो।

धनकुटा नगरपालिका वडा नम्बर ५ घर भई इटहरीमा बसेर बिभिन्न मानिसहरुलाई ठगि गरेको भन्दै इटहरी प्रहरीले सोमबार थापालाई पक्राउ गरेको हो।

थापाले इटहरी एवं आसपासका मानिसहरुबाट बिभिन्न प्रलोभन दिएर सयौँ मानिसहरुसँग करोडौँ रुपैँया संकलन गरेको बुझिएको छ। थापाले एउटै जग्गा देखाएर धेरैजनालाई बेच्ने भन्दै बैना बापत लाखौँ रुपैँया असुलेको पाईएको श्रोतले जनाएको छ।

यस्तै थापाले कतिपय महिलालाई प्रलोभनमा पारेर श्रीमानलाई थाहै नदिई लाखौँ रुपैँया कुम्ल्याएको र श्रीमानका डरले ती महिला कारवाहीको प्रकृयामा आउन नसकेको खुलेको छ।

थापा एउटा ठगि गर्ने समुहमा नै आवद्द रहेको र त्यो समुहले इटहरी र आसपासका ठाउँका दर्जनौँ ब्यक्तिहरुलाई ठगेको खुलेको छ। श्रोतले भन्यो ‘थापा एक्लैले तीन करोड भन्दा माथी असुलेको खबर छ’।

इटहरी प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। थापाबाट कोहि ठगिएको भए सम्पर्कमा आउन समेत अनुरोध गरिएको छ।