सुन्दरहरैचा / राष्ट्रिय युवा सङ्घ नेपाल सुन्दरहरैँचाद्वारा आयोजित कोशी प्रदेश स्तरीय यूथ फुटसल टुर्नामेन्टको उपाधि यूथ फोर्स कोशी प्रदेशले हात पार्न सफल भएको छ । सुन्दरहरैँचा नगरपालिका वडा नं.१० स्थित विराटचोकमा शनिवार भएको फाइनल खेलमा ५–३ गोलको अन्तरले राष्ट्रिय युवा संघ नेपाल विराटनगरलाई पराजित गर्दै कोशीले उपाधि हात पारेको हो । 

खेलको पहिलो हाफमा कोशीको तर्फबाट ४ गोल भएको थियो । जर्सी नं.१ का गोलकिपर बिनेश चौधरीले आफ्नै गोलपोष्ट एरिया देखि गरेको प्रहार विराटनगरको गोलपोष्टमा गएर सोझै गोल भएको थियो । त्यस लगतै जर्सी नं.४ का सुशान्त राईले गोल गरेका थिए । राईले थप एक गोल गरे । साथै जर्सी नं.९ का खेलाडी मिलन लिम्बुले गोल गर्दै चार गोलको अन्तरले आफ्नो टिमलाई अग्रता दिलाएका थिए । 

पहिलो हाफ सकिन एक मिनेट बाकी रहँदा विराटनगरको तर्फबाट जर्सी नं.७ का खेलाडी कैलाश बस्नेतले गोल गर्दै आफ्नो टिमको लागि खाता खोल्न सफल भएका थिए । दोस्रो हाफमा कोशीका खेलाडी जर्सी नं.९ का मिलन लिम्बुले गरे । लिम्बुले गोल गरेसँगै विराटनगरका खेलाडी जर्सी नं.८ का लबिस गिरिले गोल गरेका थिए । विराटनगरका कैलाशले थप एक गोल गरे । तर निर्धारित समय भित्र विराटनगरले ५ को विरुद्ध ३ गोल मात्र फर्काउन सकेकोले उपविजेतामा चित्त बुझाउनु परेको छ । 

विजेता टिम कोशीले ट्रफी, मेडल सहित नगद पुरस्कार रु.१ लाख १ हजार र उपविजेता टिम विराटनगरले ट्रफी र मेडल सहित रु.५१ हजार प्राप्त गरेका छन् । विजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष क्षितिज थेबेले पुरस्कार वितरण गरे भने उपविजेतालाई सुन्दरहरैचा नगरपालिकाका प्रवक्ता तथा वडा नं .१२ का अध्यक्ष रोशन ढकालले पुरस्कार वितरण गरे । 

खेलको मेन अफ द म्याच कोशीका खेलाडी जर्सी नंं.४ का सुशान्त राई घोषित भएका छन् । उनलाई ट्रफि सहित नगद रु.५ हजार प्रदान गरिएको छ । साथै वेस्ट गोलकिपर कोशीका बिनेश चौधरी घोषित भएका छन् । उनलाई नगद रु.५ हजार प्रदान गरिएको छ । वेस्ट प्लेयर कोशीका मिलन लिम्बू घोषित भएका छन् । उनलाई नगद रु.१० हजार प्रदान गरिएको छ । इमर्जिङ्ग प्लेयर सुन्दरहरैचाका सरोज बुढाथोकी घोषित भएका छन् । ‘यूथ फुटसल टुर्नामेन्ट २०८१’ राष्ट्रिय युवा संघ नेपाल, सुन्दरहरैचाको अध्यक्ष भविनजंग पाण्डेको अध्यक्षतामा सम्पन्न भएको हो ।