इटहरी / पछिल्लो समय फिल्म प्रचारप्रसारका लागी विभिन्न अफरहरु फिल्म निर्माण युनिटले सार्वजनिक गरिरहेको छ । 

यस्तैमा रिलिजको संघारमा आईपुगेको फिल्म ‘मोदिबेनी’ युनिटले ‘मोदीबेनी फुड एन्ड इन्टरटेनमेन्ट’ नाममा विभिन्न होटल तथा रेस्टुरेन्टमाहरुमा छुटको अफर सार्वजनिक गरेको छ । यता यो अफर कोशी प्रदेशमा पनि रहेको छ । कोशी प्रदेश अन्तर्गत सुनसरीको इटहरीमा अवस्थित तरहरामा रहेको ‘रिजन होटल एण्ड म्युजिक क्याफे’मा यो फिल्मले अफरको लागी सहकार्य गरेको छ ।

उक्त ‘रिजन होटल एण्ड म्युजिक क्याफे’मा मोदिबेनी फिल्म हेरिसकेपछी तपाईसंग भएको सो फिल्मको टिकट देखाउनु भएमा क्याफेले २०% को छुट दिने छ । यो संगै नेपालको अन्य ठाउँहरुमा समेत यस्ता अफरहरु सार्वजनिक भएका छन् । जस अन्तर्गत काठमाडौंको कमलादीमा रहेको स्काइवाक टावरमा लाग्ने टिकट मूल्यमा रु. २ सय छुट, स्काइवाककै कम्पाउन्डमा रहेको मेक्सिकन खाना ‘बरिटो’को लागि प्रसिद्ध बरिटो रेस्टुरेन्टमा रु. २ सय छुटको सुविधा उपलब्ध छ ।

यस्तै काठमाडौंकै बत्तिस पुतलीमा रहेको अतिथि रेस्ट्रोमा २० प्रतिशत छुट, सिटी सेन्टरको चौथो तल्लामा रहेको फुड कोर्टमा १५ प्रतिशत छुट तथा धुम्बाराहीमा रहेको लोकल फार्ममा रहेका सबै सामानमा १५ प्रतिशत छुट प्रदान हुनेछ । यता काठमाडौं बाहिर दाङको नारायणपुरस्थित भिएफएक्स सिनेमा हलमा रहेको रेस्टुरेन्टमा २० प्रतिशत, नेपालगन्जका दुई रेस्टुरेन्टहरू रेड हाउस रेष्ट्रो, गुरुद्वारा रोड र कुटुम्ब क्याफे, धम्बोजीमा २० प्रतिशत छुट प्रदान गर्ने व्यवस्था मिलाईएको ‘मोदिबेनी’ निर्माण युनिटले जनाएको छ ।

यो छुट सबैठाउँमा फुड आइटममा मात्रै लागू हुने तर, मद्यपान र धूम्रपानमा भने छुट प्राप्त नहुने फिल्म निर्माण युनिटले जनाएको छ । ‘मोदिबेनी’ हेर्न अनलाइन वा हलबाट काटिएको टिकट देखाएपछि सबैठाउँमा छुट प्राप्त गर्न सकिनेछ । अनलाइनबाट काटिएको टिकट भने प्रिन्ट गर्नुपर्नेछ । एउटै टिकटबाट माथि उल्लेखित सबै स्थानहरूमा एक पटकको लागि छुट प्रदान हुनेछ । यो अफर चलचित्र हेरेको दिनदेखि एक महिना सम्मको लागि कायम रहनेछ । नेपालभर जुनसुकै हलको लागि काटिएको टिकट यो अफरमा मान्य हुने बताइएको छ ।

यहि श्रावण १८ गते अर्थात यहि शुक्रवारदेखी प्रदर्शनमा आउने फिल्म ‘मोदिबेनी’लाई डिनेष्ट इन्टरटेनमेन्टको ब्यानरमा दिलीप केसी र हरि श्रेष्ठले निर्माण गरेका हुन् । फिल्ममा शङ्कर कोइरालाको निर्देशन रहेको छ । यसमा वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, प्रवीण खतिवडा, रेजीना उप्रेती, सरोज खनाल, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, स्नेहा भट्टराई लगायतको अभिनय रहेको छ । यसमा आनन्द विक्रम क्षेत्रीको लेखन, उत्सव दाहालको डिओपी, भरत रेग्मीको सम्पादन रहेको छ भने दीपेन्द्र गौतमको प्रोडक्सन डिजाइन, रोयल भीमसेनको पोस्टर डिजाइन तथा ट्राइडेन्ट कन्सेप्टको पब्लिसिटी डिजाइन रहेको छ । रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।