काठमाण्डौ/ शिक्षामन्त्री बिद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र प्राध्यापकहरूको सुरक्षा माग गर्नुभएको छ। सामाजिक सञ्जाल एक्समार्फत भट्टराईले गृहमन्त्री समक्ष सुरक्षा प्रबन्ध गर्न माग गर्नुभएको हो।

केही दिन यतादेखि त्रिभुवन विश्वविद्यालयका पदाधिकारी माथि हमला गर्न खोज्ने र प्राध्यापकहरूलाई फोन गरेर धम्क्याउने कार्य भइरहेको भन्दै शिक्षामन्त्री भट्टराईले गृहमन्त्रीसँग सार्वजनिक रूपमा सुरक्षा माग गर्नुभएको हो। 

भट्टराईले उहाँहरूको सुरक्षा प्रबन्ध गर्न माग गर्दै ‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरूलाई फोन गर्दै धम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ, त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु’, लेख्नुभएको छ। 

भट्टराईले आफूले सार्वजनिक अपिल गर्नुपर्ने भएर नै यसो गरेको स्पष्ट पार्नुभएको छ। ‘सार्वजनिक अपिल गर्नुपर्ने भएर नै गरेको हो, कुनै आवेगमा आएर लेखेको होइन’ भट्टराईले स्पष्ट पार्नुभएको छ।