भोजपुर | भोजपुरलाई छोटो दुरीमा खोटाङ सदरमुकाम दिक्तेल जिल्लासँग जोडने कोट–पाँचधारे सडक खण्ड स्तरोन्नती थालिएपछि स्थानीय उत्साहित भएका छन् । वर्षातको समयमा बढी मात्रामा समस्या हुने टेम्केमैयुङ गाउँपालिका ६ कोट क्षेत्रको करिव सात किलोमिटर सडक स्तरोन्नती थालिएपछि स्थानीय खुसी भएका हुन् ।

सडकको मोड मिलाउने, ग्याविन जाली भर्ने, नाली कटाउने, अप्ठ्यारो ठाउँमा ढलान गर्ने, ग्राबेल गर्ने लगायतको काम भईरहेको छ । सडक स्तरोन्नती थालिएपछि कृषि उपजको बजारीकरणसँगै आवतजावतमा सहजता हुने स्थानीयबासी हरिकुमार राईले बताए ।

सडक स्तरोन्नती नहुँदा विगतका वर्षहरुमा वर्षातको समयमा धेरै समस्या हुने गरेको स्थानीयबासी तथा वडा सदस्य नविन श्रेष्ठले जानकारी दिए । सडकको स्तरोन्नती गरिएपछि सहजता हुने उनको भनाइ छ ।

वडाको पहलमा केन्द्र सरकारबाट विनियोजन भएको रु.८० लाख बजेटबाट पिखुवा खोला पुलदेखी वडा ६ कार्यालयसम्मको सडक स्तरोन्नती थालिएको वडाध्यक्ष सूर्यप्रसाद नेपालले जानकारी दिए  । पश्चिमी क्षेत्रको महत्वपूर्ण सडक रहेकोले प्राथमिकता साथ कामलाई अघि बढाएको उनको भनाइ छ । 

निर्माणको कामलाई तीव्र गतिमा अघि बढाएको निर्माण कम्पनी आर एम डी प्रा.लि.ले जनाएको छ । हालसम्म करिव ५० प्रतिशत काम सम्पन्न भएको कम्पनीका प्रमुख मिलन राईले जानकारी दिए । सडक स्तरोउन्नतीको काम तोकिएको समयमा सम्पन्न गर्ने निर्माण कम्पनीको दावी छ । फागुन महिनामा सम्झौता भएर सडक स्तरोन्नतीका काम थालिएको हो ।