खोटाङ | खोटाङमा बाबुको हत्या गरी दाहसंस्कार गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

सामान्य विवादमा कुटपिट गर्दा ७१ वर्षीय बाबु कृष्णकुमार राईको मृत्युको र दाहसंस्कार समेत गरिसकेको भन्ने उजुरीपछि ४२ वर्षीय टीकाराम राईलाई प्रहरीले पक्राउ गरेको हो ।

गत जेठ ७ गते विहान करिब १० बजेतिर सुतिरहेकै अवस्थामा कृष्णकुमार मृत फेला परेको भन्दै टीकारामले गाउँलेलाई खबर गरेका थिए ।

त्यसपछि दाहसंस्कार गरेको तर दाहसंस्कारको तीन दिनपछि बिहीबार बिहान ६ बजे प्रहरीमा शंकास्पद मृत्युको जानकारी भएपछि प्रहरीले अनुसन्धान गर्नुका साथै शव उत्खनन् गरी पोष्टमार्टमका लागि दिक्तेल अस्पतालमा लगेको छ ।

बाबुको मृत्युबारे आफूलाई समेत राम्ररी खबर नगरेको र टीकारामको कुटपिटकै कारण बाबुको मृत्यु भएको भन्दै भाइ नवीनकुमार राईले किटानी जाहेरी दिएको प्रहरीले जनाएको  छ ।

पक्राउ गरेका टीकाराममाथि शुक्रबार तीन दिनको म्याद थप गरी आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।