झापा / केही दिनयता पूर्वी तराईंमा गर्मी अत्यधिक बढ्न थालेको छ । अप्रत्यासित वर्षासँगै बढेको गर्मीका कारण स्थानीय जनजीवन प्रभावित बनेको छ ।

यसैबीच, अत्यधिक गर्मीका कारण झापामा दुई जनाको मृत्यु भएको छ । मेचीनगरमा सडकमा हिँड्दा हिँड्दै एकजना पैदलयात्रीको मृत्यु भएको छ । मेचीनगर ९ का ७४ वर्षका नरबहादुर श्रेष्ठ मेचीनगरको धुलाबारीस्थित टिमाई पुल छेउमा लडिरहेको अवस्थामा भेटिएका थिए । मेचीनगर ९ का वडा सदस्य धनबहादुर श्रेष्ठका पिता नरबहादुरलाई स्थानीयले अचेत अवस्थामा देखेर उपचारका लागि मेची आम्दा अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

छिमेकीका अनुसार हिजो दिउँसो धुलाबारीमा आयोजना गरिएको भोजमा सहभागी भएर उनी घर फर्किएको हुनसक्ने अनुमान गरिएको छ । स्थानीयले अत्यधिक गर्मीका कारण नरबहादुरको मृत्यु भएको अनुमान गरेका छन् ।

त्यस्तै, आज अपरान्ह बुद्धशान्तिको जयपुरमा एक बेवारिसे शव फेला परेको छ । मागिखाई हिड्ने अन्दाजी ६०-६५ वर्षका पुरुष बाटोको छेउमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । गर्मीका कारण उनी पनि ढलेको हुनसक्ने आशंका गरिएको छ । आज झापामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस रहेको थियो ।