इटहरी / नेकपा एमाले सुनसरीको अध्यक्षमा नीलम खनालको प्यानलै निर्वाचित भएको छ । खनाललाई संस्थापन पक्षको समर्थन रहेको थियो ।

आठौँ जिल्ला अधिवेशनबाट बुधाबर साँझ सम्पन्न अन्तिम मतपरिणामा खनालले तीन सय ८३ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी खेमराज पोखरेलले पोखरेलले दुई सय ८७ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर ९६ रहेको छ ।

यसैगरी उपाध्यक्षमा पर्शुराम यादवले तीन सय ३२ मत ल्याएर विजयी भए । उनले निकटतम प्रतिद्वन्द्वी नन्द बस्नेतललाई तीन मतको झिनो अन्तरले पराजित गरेका छन् । यादवले तीन सय ३२ ल्याउँदा बस्नेतले ३ सय २९ मत ल्याउन सफल भए ।

सचिवमा राम कोइराला विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी पदम लिम्बूलाई एक सय १७ मतले पछि पार्दै निर्वाचित भएका हुन् ।

कोइरालाले तीन सय ८७ मत प्राप्त गर्दा लिम्बुले दुई सय ७० मत प्राप्त गरे । यसैगरी उपसचिव महिलातर्फ इन्द्रकला राई निर्वाचित भएकी छन् । उनले कमला मगरलाई दुई सय ४७ मतले पछि पार्दै निर्वाचित भएकी हुन् ।

राईले चार सय ३८ मत ल्याउँदा मगरले एक सय ९१ मत प्राप्त गरिन् । यसैगरी उपसचिवमा देवानन्द मेहतालाई एक सय ८८ मतले पछि पार्दे यामकुमार सुब्बा निर्वाचित भए । सुब्बाले तीन सय ८५ मत प्राप्त गर्दा मेहेताले १ सय ९७ मत प्राप्त गरे ।बाँकी सदस्यहरूको भने नतिजा आउने क्रम जारी रहेको छ ।