काठमाडौं / उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौ‌ंले बलात्कार गरेको कसुरमा दोषी ठहर गर्ने फैसला उल्ट्याएको छ।

बुधबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याएर सन्दीप लामिछानेलाई निर्दोष ठहर गरेको हो ।

गत पुस १३ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो । पुस २५ गते सोही इजलासले उनलाई ८ वर्ष कैद सजाय, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश गरेको थियो ।

सन्दीप लामिछानेले पनि जिल्ला अदालतले आफूलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको विपरीत उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए । जिल्ला अदालतले लामिछानेलाई सजाय कम दिएको भन्दै उच्च सरकारी वकिल कार्यालयले पनि फागुन २९ गते उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो । उक्त पुनरावेदन उच्च अदालतले फागुन ३० दर्ता गरेको थियो ।