सुनसरी / सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित प्राचीन हरिद्वार चतराधाममा बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला सम्पन्न भएको छ । गत चैत्र २७ गतेदेखि सुरु भएको उक्त बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला आज समापन भएको हो ।
१२ वर्षपछि आयोजना भएको उक्त मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेएका थिए । समापन समारोहमा मुख्य सचिव डा बैकुण्ठ अर्यालले प्रमुख अतिथि रहेका थिए । चैत महिनाको शुक्ल प्रतिपदादेखि वैशाख शुक्ल अक्षय तृतीय अर्थात् वैशाख २८ गतेसम्म गरी ३२ दिन कुम्भ मेला सञ्चालन भएको हो ।
मेलाका क्रममा ४० लाखभन्दा बढी भक्तजनले कुम्भस्नान तथा वराह भगवान्को दर्शन गरेका मेला आयोजक समितिका उपाध्यक्ष किसन थापाले जानकारी दिए । मेला आयोजना गर्न सङ्घीय सरकारले रु.७० लाख र प्रदेश सरकारले रु.५५ लाख प्रदान गरेको थियो ।
मेलाको अन्तिम दिन समापन महास्नान कौशिकी गङ्गामा गरिएको थियो । कौशिकी गङ्गामा भएको स्नानमा जगदगुरु बालसन्त मोहन शरणसँगै सरकारका मुख्य सचिव डा अर्याल, बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की, प्रधानमन्त्री कार्यालयका सचिव अर्जुन पोखरेलसहित जनप्रतिनिधिहरू, देश विदेशका सन्त महन्त लगायत श्रद्धालु भक्तजनहरूको सहभागिता रहेको थियो ।
उक्त मेलामा हजारौँ भक्तजनको सहभागिता रहेको बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख कार्कीले बताउनुभयोए । बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा भक्तजनको आगमन हेर्दा चतराधाममा कुम्भ मेला स्थापित भएको जगतगुरू बालसन्त महाराजको भनाइ रहेको छ ।
शास्त्रीय मान्यताअनुसार नेपालमा रूद्राक्षको वनमा अमृतको तरलाई पिण्ड बनाएर स्थापना गरिएपछि यसै स्थानमा कुम्भको राजधानीका रूपमा मेलाको प्रचलन सुरू गरिएको जगतगुरू देवाचार्य बताए ।
चतराधाममा पहिलो पटक २०५९ साल चैत ६ गते कुम्भ मेला धार्मिक महोत्सवका रूपमा प्रारम्भ भएको थियो । यहाँ प्रत्येक छ वर्षमा अर्धकुम्भ र १२ वर्षमा पूर्णमहाकुम्भ मेला लाग्ने गरेको छ ।