मोरङ / मोरङको सुन्दरहरैँचामा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जना पुरुषको मृत्यु भएको छ । 

प्रहरीका अनुसार पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सुन्दरहरैँचा नगरपालिका–४ मा पहिचान नखुलेको सवारीसाधनले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । तत्काल नम्बर प्लेट नखुलेको सवारीसाधनले मोरङको बेलबारीबाट सुनसरीको इटहरीतर्फ जाँदै गरेको को २० प २११४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

ठक्करबाट मोटरसाइकलको पछाडि सवार सुन्दरहरैँचा–७ का ४५ वर्षीय खुलानाथ दाहालको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका दाहालको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा दिउँसो मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक सुन्दरहरैँचा–१० का ४० वर्षीय सुन्दर बुढाथोकी घाइते भएका छन् । टाउको, खुट्टालगायत शरीरका विभिन्न भागमा चोट लागेका बुढाथोकीको नोबेलमै उपचार भइरहेको छ । 

दुर्घटनालगत्तै फरार बनेका कारण ठक्कर दिने सवारीसाधनको पहिचान हुन नसकेको र खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । उक्त सवारीसाधनको पहिचान र खोजीका लागि विशेष टोली परिचालन गरिएको छ ।