धनकुटा : धनकुटाको साँगुरीगढी गाउँपालिकाले गाउँपालिकाको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरेको छ । गाउँपालिकाले १४ औं गाउँसभाको अवसर पारेर शुक्रवार लोगो सार्वजनिक गरेको हो । 

पालिकाको ऐतिहासिक, पुरातात्विक महत्वको क्षेत्रहरु समेटेर लोगो तयार पारिएको साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए ।लोगोको माथिल्लो भागमा यस क्षेत्रमा पाइने लालीगुराँस फुलको दुई थुंगाको वीचमा नेपालको राष्ट्रिय झण्डा राखिएको छ । तल्लो भागमा रहेको रिवन भित्र पालिकाको नाम राखिएको छ । त्यस्तै लोगोको दाँया र वायाँ क्षेत्रमा कृषिजन्य उत्पादनको प्रतिकको रुपमा धानको वाला राखिएको छ ।

लोगोको भित्री क्षेत्रको माथिल्लो भागमा गाउँपालिका क्षेत्रवाट देखि मकालु, कुम्भकर्ण र कञ्चनजंगा हिमाल, त्यसपछि पहाडी क्षेत्रको भूभाग समेटिने पहाड र पर्यटनक्षेत्रलाई समेट्ने पदयात्रा राखिएको छ । त्यस्तै ऐतिहासिक साँगुरीगढी, वडागत नक्सा, झरना र सप्तकोशी नदि र त्यहाँ रहेको किराती समुदायको ऐतिहासिक खुवालुङ ढुंगा समेटिएको छ ।

लोगोको लागि गाउँपालिकाले सार्वजनिक सूचना गरि आव्हान गरेकोे थियो । छनोटका लागि विज्ञ टोली निर्माण गरिएको थियो । विज्ञ टोलीवाट छनोट भएको लोगोलाई कार्यपालिका वैठकबाट निर्णय गरि उक्त निर्णयलाई गाउँपालिकाबाट पारित गरिएको अध्यक्ष राईले बताए ।WhatsApp-Image-2024-02-16-at-19.17.16_c7ab10a0