खोटाङ / खोटाङको हलेसी तुवाचुङ नगरपालिका र हुम्लाको नाम्खा गाउँपालिकाले मित लगाएका छन् । हुम्लाको मानसरोबरले प्रख्यात ऐतिहासिक ठाउँ कैलास पर्बत र पूर्वको पशुपतिनाथले प्रख्यात त्रि–धार्मिक स्थल हलेसी रहेको भन्दै उनीहरुले एक–आपसमा मायाको चिनो मित लगाएका हुन्।

हलेसी तुवाचुङ नगरपालिकाको कार्यालयमा शनिबार एक भव्य कार्यक्रमको आयोजना गरेर नगरपालिकाका नगर प्रमुख विमला राई र नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर लामाबीच मितेरी साइनो जोड्ने समझदारीमा हस्ताक्षर भएको छ ।

संस्कृति तथा पर्यटनमा साझेदारी गर्दै अघि बढ्ने प्रतिवद्धतासहित नाम्खा गाउँपालिकासँग मितेरी साइनोमा बाँधिएको नगर प्रमुख राईले जानकारी दिइन् ।

उनले भनिन– ‘नाम्खा गाउँपालिका भौगोलक हिसावले पनि ठुलो र धार्मिक एवम् पर्यटकीय स्थल भएको ठाउँ र हाम्रो नगरपालिका पनि धार्मिक एवम् पर्यटकीय स्थल भएको ठाउँ रहेका कारण बहुसांस्कृतिक र प्रचुर पर्यटनको सम्भावना बोकेकाले यसको प्रचार–प्रसारसँगै प्रवर्धनमा सहकार्य, एकता र साझेदारी गर्नेगरि सम्बन्ध कायम गर्न मितेरी साइनोमा गाँसिएका बताइन् ।

हलेसी र नाम्खा गाउँपालिकाबीच धार्मिक एवम् सांस्कृतिक क्षेत्रको विकास, पर्यटनमा साझेदारी र सहकार्य गर्ने लक्ष्यसहित मित लगाएको नगरका प्रवक्ता एवम् वडाध्यक्ष कमल गिरीले जानकारी दिए ।