काठमाण्डौ/ नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले राष्ट्रिय हितका प्रश्न र जनसरोकारका सवालमा सरकारका बिरुद्ध सशक्त आवाज उठाउने बताउनुभएको छ। अनेरास्ववियु केन्द्रीय कमिटीको तेस्रो बैठकलाई शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै महासचिव पोखरेलले त्यसो भन्नुभएको हो।

उहाँले देश र जनताको हित विरुद्धका क्रियाकलाप अब नेकपा एमालेले टुलुटुलु हरेर बस्न नसक्ने बताउनुभयो। एमाले अब मिसन २०८४ मात्रै भनेर नबस्ने पोखरेलले प्रष्ट पार्नुभयो। पोखरेलले वर्तमान सरकारको भ्रष्टाचार, तस्करी, कालोबजारी विरुद्ध जनपरिचालनको काममा उत्रिन अनेरास्ववियुलाई आग्रह गर्नुभयो। उहाँले ‘हरेक हिसाबले यो सरकार असफल छ, इतिहासमा यति अयोग्य सरकार थिएन, यसका विरुद्धको आवाज सशक्त भएन भने अनेरास्ववियुको औचित्य पुष्टि हुन सक्दैन’भन्नुभयो। 

उहाँले मुलुकलाई सही बाटोमा अघि बढाउने हो भने राजनीतिमा दक्षिणपन्थी अवसरवादलाई परास्त गर्नुपर्ने बताउनुभयो। पोखरेलले जसले जानेको ज्ञानलाई व्यवहारमा लागु गर्दछ त्यो नै क्रान्तिकारी हुने बताउनुभयो। कुरा एउटा गर्ने काम अर्को गर्नेहरू जाली र अवसरवादी हुने पोखरेलको भनाइ छ। समाज परिवर्तनका लागि ज्ञानलाई व्यवहारमा परिवर्तन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। पोख्रेलले ‘वास्तवमा क्रान्तिकारी त्यो हो, जसले जानेको ज्ञानलाई व्यवहारमा कार्यान्वयन गर्दछ’ भन्नुभयो। 

उहाँले शास्त्रमा लेखिएको ज्ञानले मात्र समाज नबदलिने पोखरेलले बताउनुभयो। महासचिव पोख्रेलले ‘जीवनसँग नजोडिने सिद्धान्त मरेतुल्य हुन्छ, यसलाई अर्को अर्थमा पनि लिन सकिन्छ, व्यवहार बिनाको ज्ञानको कुनै अर्थ छैन’, भन्नुभयो। 

पोखरेलले वैचारिक र राजनीतिक कामको अभावमा अवसरवाद जन्मिने बताउनुभयो। उहाँले ‘जब हामी वैचारिक र राजनीतिक काम कम गर्दछौँ, अवसरवाद मौलाउँदै जान्छ’, भन्नुभयो। 

नेपालको शासन व्यवस्थामा देखिएको समस्या समाधान गर्ने काम नेकपा एमालेले मात्र गर्न सक्ने पोखरेलले बताउनुभयो। एमालेले छोटो समय देश सञ्चालन गर्दै तिव्रतर देश विकासको काम गरेको उहाँले स्मरण गराउनुभयो।