संखुवासभा/ संखुवासभाको धर्मदेवी नगरपालिकाको नगरसभा नेपाली कांग्रेसबाट निर्वाचित सदस्यहरुले बहुमतको आडमा प्रभावित गर्न खोजेको नगर प्रमुखले बताउनुभएको छ। नगर प्रमुख उदयचन्द्र पौडेलले बिज्ञप्ती जारी गर्दै यस्तो भन्नुभएको हो।

नगर प्रमुख पौडेलले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले बहुमतको दम्भले बजेट रोक्न खोजेपनि आँफुले बजेट शुन्य हुन नदिएको बताउनुभएको छ। उहाँले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई दम्भ त्याग्दै नगरको बिकासमा एकजुट हुन आग्रह समेत गर्नुभएको छ।

नगर प्रमुख पौडेलद्वारा जारी बिज्ञप्तीमा संविधानको भावना र मर्म अनुसार स्थानीय सरकारले प्रत्येक वर्षको आषाढ १० गतेभित्र आगामी आर्थिक वर्षको लागि नीति, कार्यक्रम तथा बजेट पेश गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । सोहि व्यवस्था अनुसार धर्मदेवी नगरपालिकाले मिति २०८१/३/९गते नीति कार्यक्रम तथा बजेटको प्रारम्भिक सिलिङ पास गरी मिति असार २९ गते नगर सभा सम्पन्न गर्ने निर्णय गरेर नगर सभाका सबै सदस्यहरुमा सूचना जारी गरिएको जानकारी गराईएको छ।

आर्थिक वर्ष २०८१/८२ को लागि बजेट आषाढ महिनाभित्र नै पारित गर्नुपर्नेमा केहि सदस्यहरुले बहुममतको नाममा बैठकमा उपस्थित नहुने र नगरका काम कारवाहिलाई प्रभाव पार्ने उद्देश्यका साथ बैठकमा अनुपस्थित रहने एवं उपस्थित भएता पनि बीचमा नै छोडेर हिड्ने गरेको र यसले नगरको नियमित काम कारवाहीलाई समेत प्रभावित बनाएको बिज्ञप्तीमा उल्लेख छ।

आर्थिक वर्ष २०८१/८२ को बजेट तथा कार्यक्रममा जनताको प्रत्यक्ष सरोकारको विषय, विपन्न गरिब परिवारको घरको फुसको छाना हटाउने कार्यक्रम, आगलागी नियन्त्रणको लागि मुडे बजारमा विषेश अग्नि नियन्त्रण कार्यक्रम, बहुउपयोगी धर्मदेवी सामुदायिक पुस्तकालय निर्माण, गुणस्तरीय शिक्षाका लागि शैक्षिक सुधार कार्यक्रम एवं नगरको विकासको लागि सडक निर्माण, मुडे–मदामसिं, याक्खा चौक –बिहीबारे मुलगाउँ सडक, मुडे–केवावेशी सडकलाई विशेष प्राथमिकता र जनताको घरदैलोमा दिने सेवालाई अझ प्रभावकारी बनाउन नगरपालिकाको भवन र वडा कार्यालय भवन निर्माणलाई प्राथमिकतामा राखी तयार गरिएको बजेट तथा कार्यक्रमले जनताको भावनालाई सम्बोधन गर्छ भन्ने बुझी नगर सरकार एवं नगर प्रमुखलाई असफल बनाउन बहुमतको नामले आफैले निर्धारण गरेको बैठक र सभामा अनुपस्थित रहेर नगरपालिकाको काम कारवाहीलाई असफल बनाउने उद्देश्य रहेको देखिन्छ भनेर बिज्ञप्तीमा उल्लेख छ।

नगर प्रमुख पौडेलद्वारा जारी बिज्ञप्तीमा नगर सरकारको प्रमुखको हैसियतले नगरको बजेटको शुन्यतालाई अन्त्य गर्न र जनतालाई प्रदान गर्ने सेवा सुविधा तथा जनताका प्रत्यक्ष सरोकार राख्ने योजना कार्यक्रम र विकास निर्माणका कार्यलाई निरन्तरता दिन कोशी प्रदेश सरकारबाट जारी गरिएको गाउँ सभा र नगर सभा सञ्चालन गर्न बनेको ऐन, २०७५ को दफा १४ को उपदफा (१) बमोजिम मिति २०८१असार २९ गते बिहान १०ः ३०बजे बोलाएको बैठकमा गणपूरक संख्या नपुगी पुनः दफा १४ को उपदफा (२) बमोजिम बैठक आह्वान गरिएको र सो उपदफा (२) बमोजिम समेत गणपुरक संख्या नपुगेकोले पुनः उपदफा (३) बमोजिम बैठकको सूचना जारी गरिएको र उपदफा (३) बमोजिम जारी गरिएको सूचना बमोजिम समेत गणपुरक संख्या नपुगेकोले उपदफा (४) बमोजिम एक तिहाई सदस्यको उपस्थितिलाई गणपुरक संख्या मानिने छ भन्ने उल्लेख भए अनुसार सभामा उपस्थित सदस्यलाई आधार मानी बाह्रौं नगर सभा सम्पन्न गरिएको जनाईएको छ।

Dharmadebi oneDharmadebi two