सुनसरी \इटहरी २० तरहरामा शनिबार हुन लागेको कोरा साइक्लिङको तयारी पूरा भएको छ । बुधबार पत्रकार सम्मेलन गरी आयोजक तरहरा साइक्लिङले तयारी पूरा भएको जनाएको हो । 

कार्यक्रम संयोजक बहादुर तामाङका अनुसार साइक्लिङमा कोशी प्रदेशका पाँच सय बढी साइक्लिस्टहरूको सहभागिता हुनेछन् । 

शिक्षामा लगानी, बालबालिकालाई भोलिको सुनौलो बिहानी भन्ने सन्देशका साथ कोरा आयोजना गर्न लागिएको उनले बताए । कोरा च्यालेन्ज नेपालका विभिन्न स्थानमा वार्षिक रूपमा आयोजना हुने र यसले स्थानीय धार्मिक स्थलहरूको प्रचार गर्ने बताइएको छ । साइक्लिङका अध्यक्ष खड्ग भण्डारी (रमेश)ले धार्मिक स्थलको वरिपरी घडीको दिशामा घुम्दै परिक्रमा गराइने र साइकल राइडमा वस्ती, गाउँदेखि सहरलाई साइकलसँग जोड्ने लक्ष्य रहेको बताए । कोरा च्यालेन्जमा ६ देखि ६५ उमेर समूहका सहभागी रहने जनाइएको छ । 

सिनियरको लागि २५ किलोमिटर दूरी हुने र जुनियरका लागि १० किलोमिटरको यात्रा तय गरिएको छ । तरहरा चौकबाट शनिबार बिहान ७ बजे सुरु हुने कोरा स्थानीय शिव मन्दिर, गोल्डेन चोक, बि एन्ड बि चोक, गुरुङ गुम्बा, यलम्बर चोक, इमो लाइन, सहमति चोक, हिमशिखर स्कुल, सुन्दर टोल, धरान रोड, पानीपिया, देविथान चोक, चर्च रोड, राई टोल, शिव मन्दिर चोक, हुँदै पर्यटकीय क्षेत्र हुँदै तालतलैया पुग्नेछ । त्यहाँबाट भेटघाट चोक, प्रणामी मन्दिर, इटहरी उपमहानगरपालिकाको कार्यालय, आर्मी क्याम्प, हलगडा चोक, जननायक वीपी रोड, भवानी चोक, फुजिसान स्कुल, सामुदायिक वन कार्यालय, तामाङ गुम्बा हुँदै बहुभाषी स्कुल पुगेर समापन हुने तयारी छ ।  

  जुनियरको लागि भने तरहरा चोकबाट सुरु भई शिव मन्दिर, गोल्डेन चोक, बि एन्ड बि चोक, गुरुङ गुम्बा, यलम्बर चोक,इमो लाइन, सहमति चोक, हिमशिखर स्कुल, सुन्दर टोल, धरान रोड, तरहरा चोक, धनपुरी रोड, जनसहयोग मावि, महुलिया रोड, पश्चिम रोड, भवानी चोक फुजिसान स्कुल, भवानीपुर बास्केटबल खेल्ने मैदान, एकता टोल, नयाँ टोल हुँदै सामुदायिक वन कार्यालय, तामाङ गुम्बा हुँदै बहुभाषी स्कुल पुगेर समापन हुनेछ । 

तरहरा आसपास क्षेत्रका सामुदायिक विद्यालयहरूमा अध्ययनरत गरिब तथा जेहेन्दार बालबालिकाहरूलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो । सहभागी र सहयोगीबाट उठेको शुल्कको खर्च कटाएर बाँकी रहेको रकम विद्यार्थीहरूमाथि लगानी गर्ने उदेश्य रहेको आयोजकले जनाएको छ ।