इटहरी/ इटहरी उप–महानगरपालिकाले आगामी आर्थिक वर्षका २०८१/८२ का लागि ल्याएको बजेट तथा कार्यक्रम पारित भएको छ। नगर सभामा छलफल भएपछि बजेट पारित भएको हो।

असार १०गते नगर सभामा इटहरी ६ का वडा अध्यक्ष दिवश पोखरेलले ३ अर्ब ५७ करोड ८४ लाख ५० हजार रुपैयाँको बजेट पेश गर्नुभएको थियो। नेकपा एमालेले औपचारिक रुपमा बिरोध जनाएको उप–महानगरपालिकाको बजेट सोहि आकारमा पारित भएको मेयर हेमकर्ण पौडेलको सचिवालयले जनाएको छ।

असार १० गते सोमबार राति प्रस्तुत बजेट नीति तथा कार्यक्रममा ९६ करोड आन्तरिक आय अनुमान गरिएको छ। असार मसान्त (आज)सम्म पारित गरिसक्नुपर्ने बाध्यात्मक व्यवस्था अनुसार बहुमत नगर सभा सदस्यको समर्थनमा पास भएको भएको मेयर हेमकर्ण पौडेलको सचिवालयले जनाएको छ।

उपमेयर सङ्गिता चौधरी अनुपस्थित भएपछि वडा अध्यक्ष दिवस पोखरेलले विनियोजन बिधेयक र अर्थ बिधेयकमा छलफल चलाउनुभएको हो। यसअघि नेकपा एमालेका सदस्यहरूले बहिष्कार गरेपनि आज बहुमत सदस्यले छलफलमा सहभागिता जनाएको भएको मेयर हेमकर्ण पौडेलको सचिवालयले जनाएको छ।

पारित भएको बजेटमा संघीय समानिकरण अनुदान २९ करोड ५६लाख, संघीय शसर्त अनुदान चालु तर्फ  ४९ करोड ४३ लाख र संघीय शसर्त अनुदान पुजिगत तर्फ ८१करोड ९३ लाख ११ प्राप्त हुने उल्लेख छ। त्यस्तै संघीय समपुरक अनुदान ४ करोड, संघीय विशेष अनुदान ५करोड आउने प्रक्षेपण गरिएको हो। 

प्रदेश समानिकरण अनुदान १ करोड ९४लाख, प्रदेश शसर्त अनुदान चालु खर्च तर्फ ३२ लाख ३८हजार, प्रदेश शसर्त अनुदान पुजीगत खर्च तर्फ २ करोड ४४ लाख र प्रदेश समपुरक अनुदान १ करोड ७७ लाख आउने बजेटमा उल्लेख छ। 

संघीय राजश्व बाँडफाँड १९ करोड ११ लाख, प्रदेश राजश्व वाँडफाँड (सवारी कर) २ करोड ३३ लाख र प्रदेश राजश्व बाँडफाँड (मालपोत रजिष्ट्रेसन) ५६करोड अनुमान गरिएको हो।

चालु खर्च तर्फ १ अर्ब ४१ करोड ३४ लाख ३७ हजार अर्थात कुल बजेटको ३९ दशमलव ५ प्रतिशत खर्च गर्ने उप–महानगरपालिकाको योजना छ। वित्तिय व्यवस्था अन्तर्गत साँवा ब्याज भुक्तानी तर्फ ९०लाख अर्थात कुल बजेटको ०दशमलव २५ प्रतिशत र पुँजिगत तर्फ २अर्ब १५करोड ६० लाख अर्थात ६०दशमलव २५प्रतिशत खर्च गर्ने बजेटमा उल्लेख छ। जसमध्ये बिषयगत तर्फ ३९करोड, वडा सिमा तर्फ ३८करोड, नगरस्तरीय योजनाको लागि ८करोड विनियोजन गरिएको छ।