भोजपुर / भोजपुरको टेम्केमैयुङ गाउँपालिका ९ लेखर्कबासीले श्रमदानमार्फत सडक मर्मत गरेका छन् । वर्षातको कारण पाँचधारे–भोजपुर सडक खण्डको राउते खोलाले सडक बगाएपछि उनीहरुले श्रमदानमार्फत मर्मत गरेर सञ्चालनमा ल्याएका हुन् ।
वर्षातले सडक बगाउदा करिव तीन साताबाट बन्द रहेको सडक स्थानीयको सकृयतामा मर्मत गरेर तत्कालको लागि सञ्चालनमा ल्याइएको वडाध्यक्ष नभराज माङ्पाहाङ्ले बताउनुभयो । सडक मर्मतपछि आवतजावतमा सहजता भएको उहाँले बताउनुभयो । यो स्थानमा बर्षातको कारण वर्षेनी सडकमा क्षति पुग्ने भएकोले यो स्थानको विकल्प खोज्न आवश्यक देखिएको उहाँको भनाइ छ ।
“वर्षातको कारण अवरोध रहेको राउते खोलामा सडक मर्मत गरेर सञ्चालनमा ल्याएका छौँ” वडाध्यक्ष माङ्पाहाङ्ले भन्नुभयो,“ सडक मर्मत गरेपछि निकै लामो समयबाट बन्द रहेको सडक सूचारु भएको छ । खहरे खोला भएकाले पानी आउन साथ सडकमा निकै ठूलो क्षति हुन्छ । खोलाको कटानको कारण वर्षेनी बढी नै क्षति हुने भएकोले वैकल्पिक बाटो खोज्न आवश्यक छ ।”
राउते खोलाको शिरमा रहेको रुपाथुम्की आसपासको अर्को सडक पनि पहिरो बगाउँदा आवत जावत गर्न समस्या रहेको उहाँको भनाइ छ ।
करिव ७० जना स्थानीय भेला भएर तत्कालको लागि राउते खोलाको अवरोध सडक खुलाएको स्थानीयबासी अमृत लुईटेलले बताउनुभयो । वडा कार्यालयको अगुवाईमा भइरहेको श्रमदान अभियानमा गाउँलेहरु भेला भएर सडक मर्मत गरिएको उहाँको भनाइ छ । स्थानीयको श्रमदानले राज्यको धेरै बजेट बचत हुने उहाँको भनाइ छ ।
“हामी सवै स्थानीय जुटेर निकै लामो समयबाट बन्द रहेको सडक खुलाउन सफल भएका छौँ”उहाँले भन्नुभयो,“यो खोलाको कारण वर्षेनी समस्या हुन्छ । राज्यले पुलको लागि पहल गरिदिए हामीलाई राहत पुग्ने थियो ।” यो सडक भएर छिमेकी जिल्ला खोटाङका मानिसहरुसमेत आवत जावत गर्दै आएका छन् । सडक अवरोध बनेपछि भोजपुरको पश्चिमी क्षेत्रका नागरिकसँगै छिमेकी जिल्ला खोटाङका नागरिकलाई आवतजावत दैनिक उपभोग्य बस्तुको ढुवानी समस्या हुने गरेको स्थानीयबासी अंजित गुरुङले बताउनुभयो ।
“हामी पश्चििमी क्षेत्रका नागरिकसँगै छिमेकी जिल्ला खोटाङका नागरिककोसमेत महत्वपूर्ण सडक हो” उहाँले भन्नुभयो,“सडक अवरोध बन्दा यहाँको दैनिकी निकै कष्टर हुन्छ । राज्यले यो सडकलाई बिना अबरोध बाह्र महिना सञ्चालनमा ल्याउन पहल गर्न आवश्यक छ ।” स्थानीयको सकृयतामा मात्र सञ्चालनमा ल्याउन निकै कठिन रहेको उहाँको भनाइ छ ।