सुनसरी/ प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीका बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि शुरू भएको छ।
एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा तुलसीको दल राखिएको हुन्छ। दल राखिएको ठाउँमा उम्रिएको तुलसीको बिरुवा आज हरिशयनी एकादशीका दिन सारिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ।
सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा.डा.देवमणि भट्टराई बताउनुहुन्छ। भगवान् विष्णु शयन गर्ने चार महिनालाई चतुर्मासा पनि भनिन्छ।
एक वर्षमा २४वटा एकादशी पर्छन्। सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन्। नसक्नेले चतुर्मासका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन्। कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन्।
विष्णु मन्दिरमा घुइँचो
हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चारनारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ। एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिंडोलगायत फलाहार गर्ने गरिन्छ।
वैज्ञानिक रुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा प्रयोग गरिन्छ। तुलसीको मोठ भएका ठाउँमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत छ। वास्तु दोष भएका ठाउँमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता छ भने तुलसी भएका ठाउँमा शुद्ध हावा बहने तथ्य वैज्ञानिक रूपमा पुष्टि भएको छ।
चार महिनासम्म विधिपूर्वक पूजाआराधना गरिएको तुलसीलाई कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ। तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्निस्थापना विधिबाट चतुर्मासा व्रतको उद्यापनका लागि हवन समेत गरिन्छ।
मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न पनि तुलसीलगायत जडीबुटीले काम गर्ने जनाइएको छ। सिंहदरबार वैद्यखाना विकास समितिले बनाएको तुलसी चियाको माग बढेको छ। यी तथ्यले तुलसीको महत्व स्पष्ट पार्छ।