काठमाण्डौ/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश निर्माणको लागि सबल र निर्णायक राष्ट्रिय शक्ति आवश्यक रहेको बताउनुभएको छ। अनेरास्ववियु केन्द्रीय कमिटीको पूर्ण बैठकलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष ओलीले त्यसो भन्नुभएको हो।

अध्यक्ष ओलीले नेकपा एमाले सबल राष्ट्रिय शक्ति भए पनि निर्णायक राष्ट्रिय शक्ति नबनेको भन्दै २०८४ को निर्वाचनमा नेकपा एमालेलाई सबल राष्ट्रिय शक्तिबाट निर्णायक सुदृढ राष्ट्रिय शक्ति बनाउनु पर्ने बताउनुभयो । ‘अरू राष्ट्रिय शक्ति बन्न सक्दैनन्, एमाले राष्ट्रिय शक्ति बन्नुपर्छ’, ओलीले भन्नुभयो । 

ओलीले सुखी नेपाल समृद्ध नेपालको लागि नेकपा एमाले नै सत्तामा पुग्नुपर्ने बताउनुभयो । त्यसको लागि पार्टी एक भएर अघि बढ्नुपर्नेमा ओलिले जोड दिनुभयो । 

ओलीले सबैभन्दा महत्त्वपूर्ण बिषय एकता नै भएको भन्दै संगठन र पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनु पर्ने बताउनुभयो । त्यसको लागि विचार प्रमुख विषय भएको प्रष्ट्याउँदै उहाँले लक्ष्य नतोकी हिँडियो भने गन्तव्य निश्चित नहुने बताउनुभयो। ‘सँगै हिँड्दा बल हुन्छ, उछिन पाछिन गर्दा बल हुँदैन, अनेकता हुँदा बल हुँदैन, एकता हुँदा बल हुन्छ’, उहाँले भन्नुभयो । 

चुनावदेखि चुनावसम्म, पददेखि पदसम्मको राजनीति देश र जनताको लागि हितकर नहुने ओलीले बताउनुभयो । अहिलेको अवस्थाबाट उन्नत र समृद्ध समाज निर्माण गर्ने बिषय राजनीतिक लक्ष हुनुपर्नेमा उहाँले जोड दिनुभयो । 

अहिले नयाँ नयाँ भन्ने दल र नेता निस्किएका बताउँदै ओलीले गत साल नै पार्टी खोलेकाहरू पनि अब पुराना हुँदै गएका बताउनुभयो। सडकमा जम्मा भएका मानिसलाई हात उठाउन लगाएर सांसदको उम्मेदवार बनाएकाहरुले गठबन्धनको वितृष्णबाट दिक्क भएका जनताको मत लिन सफल भएको ओलीको टिप्पणी छ । उनीहरूको कुनै गन्तव्य तथा राजनीतिक लक्ष र उद्देश्य नभएको ओलीले स्पष्ट पार्नुभयो । 

झिल्के मिल्के कुरा गरेर दिगो राजनीति गर्न नसकिने ओलीले बताउनुभयो । राजनीतिको लागि दिगो सोच र लक्ष हुनुपर्ने ओलीको धारणा छ । 

एमाले केही पनि होइन भन्ने दक्षिणपन्थी शक्तिलाई एमालेले राम्रो जवाफ दिएको ओलीले बताउनुभयो । उहाँले एमालेको शक्ति देखेर दक्षिणपन्थीले गम खाएका बताउनुभयो। 

ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि आवेदन दिने मध्य राम्रा मान्छेलाई फालेर आफ्ना आसेपासेको नाम सर्ट लिस्टमा निकालिएको भन्दै ओलीले आलोचना गर्नुभयो। विश्व विद्यालयलाई राजनीतिमुक्त गर्छु भन्दै खोक्ने प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वविद्यालयको उपकुलपति नियुक्तिमा घोर राजनीति गरेको बताउनुभयो।

एमाले बाहेक अन्य कुनै पनि शक्तिले सुखी नेपाली समृद्ध नेपालको अभिभारा पूरा गर्न नसक्ने उहाँले बताउनुभयो । अन्य दलले सुखी नेपालीको कुरै गर्न नसक्ने ओलीको भनाइ छ। समृद्धि र क्षणिक खुसीले मात्र सुख प्राप्त नहुने उहाँले प्रष्ट पार्नुभयो।

-न्युज कारखानाबाट