धरान । सङ्घीय बजेट, योजना र कार्यक्रमको लागि गरिएको मूल्यांकनमा ‘सहकार्य’ मा शुन्य अंक पाएको सुनसरीको धरान उपमहानगरपालिकाले न्यायिक कार्यसम्पादनमा १०० अङ्क प्राप्त गरेको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि अनुसार आर्थिक वर्ष २०७९–८० को प्रारम्भिक नतिजामा धरानले सहकार्यमा ‘०’ शून्य अङ्क पाएको हो । धरानका मेयर हर्क साम्पाङको कार्यशैलीको कारण सहकार्यमा धरानले कुनै अंक नपाएको हो ।

मेयर हर्क साम्पाङले अन्य पालिका र संंघसंस्थाहरूमा सहकार्य र समन्वय गरेको नदेखिएको कारण स्वमूल्याङ्कनमा धरान उपमहानगरपालिकाले शून्य अंक पाएको हो । धरानका प्रशासकीय अधिकृत प्रज्ञा निरौलाले सहकार्य तथा समन्वयमा कुनै कागजात नभेटिएकाले शून्य प्रतिशत अंक आएको बताइन् ।

सङ्घ, प्रदेश र स्थानीय तहमा सहकार्य समन्वय, अन्तर स्थानीय तह, पूर्वाधार निर्माण, दुई वा सोभन्दा बढी स्थानीय तहको सहकार्य र समन्वय, प्राकृतिक स्रोतको संरक्षण तथा उपयोग, पूर्वाधार, फोहोर मैला व्यवस्थापन, आपत्कालिक सेवा व्यवस्थापन, दुई वा सोभन्दा बढी स्थानीय तहका सरोकारको विषय मूल्यांकनमा परेका थिए । संविधानको धारा २३५ अनुसार तथा स्थानीय तह सञ्चालन ऐनको दफा ३६ अनुसार अन्तरस्थानीय तह काम नभएकाले समन्वय सहकार्यमा शून्य प्रतिशत अंक आएको निरौलाको भनाइ छ ।

धरान उपमहानगरपालिकाका मेयर साम्पाङले हुने कुनै पनि संस्थागत कार्य र निर्णयमा सहकार्य र समन्वय गर्ने गरेका छैनन् । उनले कार्यपालिकाको एजेन्डा बनाउँदा समेत एकल ढङ्गले गर्दै आएका छन् ।सहकार्यतर्फ शुन्य अंक पाएको धरानले न्यायिक कार्यसम्पादनमा भने १०० प्रतिशत अङ्क प्राप्त गरेको छ । न्यायिक समितिको संयोजक उपमेयर अइन्द्रबिक्रम बेघा हुन् । उनको न्यायिक कार्यसम्पादनको उच्च मूल्याङ्कनको आधारमा धरानले शतप्रतिशत अङ्क पाउन सफल भएको हो ।

कार्यपालिकाको आइतबार बसेको दोस्रो बैठकमा वरिष्ठ प्रशासकीय अधिकृत निरौलाले मूल्यांकन प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्वीकृत स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको प्रारम्भिक नतिजा अनुसार धरानको नतिजा पेश गरेपछि मेयर साम्पाङको आलोचना भएको थियो ।

धरानको २०७९–०८० को मूल्याङ्कनमा जिल्ला समन्वय समितिको पृष्ठपोषणसमेत समावेश गरिएको छ । कार्यविधिमा व्यवस्था भएको जम्मा १० वटा विषय क्षेत्रगत सूचकहरूको आधारमा मूल्याङ्कन गर्दा धरानले ७१ दशमलव ५ प्रतिशत अङ्क प्राप्त गरेको छ ।

उपमहानगरका कर्मचारीद्वारा गरिने अधिकांश कार्यसम्पादनमा सन्तोषजनक अङ्क प्राप्त भएको छ । स्वमूल्याङ्कन नतिजा अनुसार प्रशासकीय प्रबन्धमा ७७ दशमलव ७८ प्रतिशत, सङ्गठन तथा प्रशासन ६२ दशमलव ५ प्रतिशत प्राप्त भएको छ । वार्षिक बजेट तथा योजना व्यवस्थापन ७२ दशमलव ७३ प्रतिशत, वित्तीय एवं आर्थिक व्यवस्थापन ९५ दशमलव ४५ प्रतिशत, सेवा प्रवाह ८१ दशमलव २५ प्रतिशत, न्यायिक कार्यसम्पादनमा १०० प्रतिशत, भौतिक पूर्वाधारमा ६१ दशमलव ५४ अङ्क प्राप्त भएको छ ।

सामाजिक समावेशीकरण ७० प्रतिशत, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन ६६ दशमलव ६७ प्रतिशत र सहकार्य तथा समन्वय शून्य प्रतिशत आएको प्राप्त भएको उपमहानगरले जनाएको छ ।