काठमाडाैं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफू निर्दोष रहेको बताउँदै दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन्।राष्ट्रपतिबाट आममाफी पाएपछि रिहा भएका चौधरीले डिल्लीबजार कारागारबाहिर सञ्चारकर्मीसँगको संवादमा यस्तो बताएका हुन्।

उनले भने, 'कसैले कसैलाई आरोप लगाएर हुँदैन। हामी सबैले बेदना साँटासाँट गरेर अघि बढ्नुपर्छ। असली दोषीलाई राज्यले कारबाही गर्नुपर्छ।'उनले टीकापुर काण्डमा जेलमा रहेका अन्य राजबन्दीलाई पनि छिट्टै रिहा गर्नेगरी प्रक्रिया चाल्ने बताए।

सुदूरपश्चिम सरकारमा पहिले दलहरू मुख्यमन्त्री दिन तयार रहेकोमा अहिले एउटा मन्त्रीमा खुम्चाउन खोजेको बारे सोधिएको प्रश्नमा उनले त्यस्तै कारणले हिजो टीकापुर विद्रोह भएको बताए। यस्तै संकीर्णताका कारण अखण्ड सुदूरपश्चिम र थरुहट पक्षबीच द्वन्द्व भएको बताउँदै उनले फेरि सिंगो समुदायमाथि घात हुननहुने भनाइ उनको थियो।

उनले नेपाली कांग्रेसलाई उन्मुक्तिले पश्चिमबाट सहयोग गरेको बताए। आफ्नै सहयोगका कारण कांग्रेस र मा‌ओवादी सरकारमा पुगेको दाबी उनले गरे। कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालबीच आफूहरूसँग भएको सहमतिअनुसार अघि बढ्नुपर्ने उनको भनाइ थियो। नागरिक उन्मुक्ति पार्टीले मागेको २ मन्त्री र एक राज्यमन्त्री छिट्टै दिनेमा आफू विश्वस्त रहेको पनि उनले बताए।

यसैगरी टीकापुर घटनाबारे लाल आयोगले बनाएको प्रतिवेदन सार्वजनिक नहुने राज्यको दोष भएको पनि उनले बताएका छन्। सर्वोच्च अदालतको आदेशलाई मानेर आफूहरू जेल बसेको र कानून मानेको भए पनि सरकारले गठन गरेकै लाल आयोगको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने उनले बताए।