काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (मंगलबार) बस्दैछ । बैठक बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ । बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने बताइएको छ । बैठकमा बैशाख १० गते हुने उपनिर्वाचनको विषयमा छलफल हुने बताइएको छ ।

कांग्रेसले सरकारमा सहभागी हुन अर्थ मन्त्रालयसहित ८ मन्त्रालय दाबी गरेको छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का वा पार्टी प्रकाशशरण महतमध्ये एकको नेतृत्वमा सरकारमा सहभागी हुने तयारीमा छ । कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम औपचारिक रूपमा टुंगो लाग्न बाँकी छ । तर पनि खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने आन्तरिक तयारी भएको कांग्रेस स्रोतले जनाएको छ ।

सभापति शेरबहादुर देउवा निकट स्रोतका अनुसार खड्कासँगै अर्का उपसभापति धनराज गुरुङ, प्रवक्ता डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यद्वय एनपी साउद र सीता गुरुङ मन्त्री बन्ने सूचीमा छन् । खड्काको नेतृत्वमा सरकारमा जान लागेकामध्ये महतको मात्रै मन्त्रालय टुंगिएको छ । देउवाले महतलाई अर्थ मन्त्रालयको जिम्मा दिएर सरकारमा पठाउने तयारी गरेका छन् ।

उपसभापति गुरुङ तथा केन्द्रीय सदस्यद्वय साउद र गुरुङको मन्त्रालय टुंगो लाग्न बाँकी रहेको कांग्रेस स्रोतले बताएको छ । परराष्ट्रमन्त्रीको टुंगो लागेको छैन । यस्तै मन्त्रालय भागबण्डाको टुंगो लगाउन आज (मंगलबार) सत्तारूढ १० दलीय गठबन्धनको बैठक बस्दैछ । अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले भागबण्डाको टुंगो लगाउने बताइएको छ ।सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच मन्त्रिपरिषद् विस्तारका लागि १० दलीय गठबन्धनको बैठक बोलाउने सहमति भएको थियो ।