इटहरी । नवजात शिशु बेपत्ता पारेको कसुरमा पक्राउ परेका विराटनगरका डाक्टर तपेश्वरलाल कर्णसहित दुई जनालाई उच्च अदालत विराटनगरले धरौटीमा रिहा गरेको छ ।

उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजालाशले बिहीबार डा.कर्ण र सूर्यनारायण राजवंशीलाई जनही १ लाख रुपैयाँ धरौटीमा छोडन आदेश गरेको हो । अदालतले शिशुका बाबु गोविन्द राईको हकमा भने थुनामै राख्ने जिल्लाको आदेश सदर गरेको जिल्ला अदालतका उपरजिष्ट्रार टिकेन्द्रबीरजंग राणाले जानकारी दिए ।

गत असो २४ गते मोरङ जिल्ला अदालतले डाक्टर कर्णसहित
तीन जनालाई पुर्पक्षको लागि कारागार चलान गर्ने आदालत गरेको थियो । मोरङ जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजालाशले ६८ वर्षीय डाक्टर कर्णसहित कटहरी गाउँपालिका–४ का सूर्यनारयण राजवंशी र भोजपुरको हतुवागढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राईलाई पुर्पक्षको लागि जेल चलान गरेको थियो ।

नवजात शिशु बेपत्ता पारेको कसुरमा ६ जनाविरुद्ध मुद्दा दायर भएको थियो । उनीहरुले पाँच लाख रुपैयाँमा शिशुको आमालाई झुक्याएर बिक्री गरेको खुलेको थियो । जिल्ला अदालतबाट डा.कर्ण, शिशु खरिद गर्ने राजवंशी र शिशुका बाबु राईसहित तीन जना पुर्पक्षको लागि थुनामा गएका थिए भने सहयोगी तीन जना धरौटीमा रिहा भएका थिए ।

मोरङको कटहरी–२ आदर्शटोलकी ३३ वर्षीया सुधा भन्ने सुक्री राजवंशी २ लाख, सिराहाको कल्याणपुर नगरपालिका १२ की ३८ वर्षीया नर्स निर्मला यादव १ लाख र ४७ वर्षीया दिलमनी देवी राजवंशी १० हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए । पुर्पक्षमा रहेका कर्ण र चौधरिले जिल्लाको आदेश बदरको माग राख्दै ७३ नम्बर गरेका थिए ।

जिल्ला सरकारी वकिलको कार्यालयले कर्णसहित ६ जना प्रतिवादीहरुविरुद्ध अपहरण तथा व्यक्ति वेपत्ता, एकीकृत कसुर सम्बन्धी मुद्दा दायर भएको थियो । भोजपुर हतुवागढी–४ का २७ वर्षीय अविवाहित गोविन्द राई र उनकी प्रेमिका २६ वर्षीयाको सम्बन्धबाट असार १४ मा शिशु जन्मिएकी थिइन् ।

विराटनगरको ग्रीनक्रस अस्पतालमा सामान्य अवस्थामा जन्मिएकी शिशुलाई डा.कर्णले मोरङको कटहरी–२ आदर्श टोलका सूर्यनारायण राजवंशी दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको खुलेको थियो । प्रहरीले उनीसहित अपराधमा संलग्न ७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । कर्णले उक्त बच्चाको व्यवस्थापनका लागि अविवाहित बाबुसँग पनि ३५ हजार रुपैयाँ लिएको पुष्टि भएको थियो ।

कर्णको क्लिनिक ग्रीनक्रस अस्पताल नजिक छ । आफ्नो क्लिनिकमा आएकी गर्भवती युवतीलाई ग्रीनक्रसमा सुत्केरी गराएर अस्पतालकी सफाइ कर्मचारी सुधा राजवंशी र क्लिनिककी सहयोगी नर्स निर्मला यादवमार्फत डा.कर्णले कटहरी–२ की दिलमाया राजवंशी र उनका छोरा सूर्यनारायणलाई ५ लाखमा बिक्री गरेको प्रहरीको अनुसन्धानले पुष्टि गरेको थियो । त्यसअघि डा. कर्णले ती अविवाहित जोडीबाट शिशुको व्यवस्थापन गर्ने जिम्मा लिँदै ३५ हजार रुपैयाँ लिएको पनि अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले यस घटनामा ७ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये ग्रिनक्रस हस्पिटलका सञ्चालक कृष्ण खवासलाई मुद्दा नचलाउने निर्णय भएको थियो ।