चितवन । पूर्वी नवलपरासीको कावासोतीमा ४० वर्षको एक पुरुषसँग १६ वर्षकी छोरीलाई दबाब दिएर विवाह गराइ दिएको आरोपमा प्रहरीले किशोरीकी आमासहित पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरले बालिकाको भाउजुले दिएको उजुरीको आधारमा छोरीलाई जबरजस्ती विवाह गराउने आमा, दुई जना सानीमा र एक जना सानोबुबासहित विवाह गर्ने पुरुषलाई पनि पक्राउ गरेको हो । गत मंसिर २९ गते आफ्नो घरबाट केही पर रहेको सानीमाको घर लगेर १६ वर्षकी छोरीलाई उनकी आमाले विवाह नगर्ने भए आफू झुण्डिएर मर्ने भन्दै विवाह गर्न दबाब दिएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुर प्रहरी निरीक्षक साजनकुमार शर्माका अनुसार आमा र दुई सानीमा सानोबाको दबाबका कारण किशोरी विवाहको लागि राजी भएकी थिइन् । आफ्नो घर नै नलगी कावासोतीमै रहेको सानीमाको घरबाट छोरीको टिकोटालो गरेर विवाह गराइदिएर आमा घर फर्किएकी थिइन् ।

सानीमाको घर गएकी नन्द घर नफर्किएपछि सोधी खोजी गर्दा ४० वर्षको पुरुषसँग विवाह गरिदिएको थाहा पाएपछि भाउजूले प्रहरीमा जाहेरी दिएकी इन्स्पेक्टर शर्माले जानकारी दिए । सोही जाहेरीका आधारमा प्रहरीले हिजो मङ्गलवार नै आमासहित बालिका विवाहमा संलग्न पाँचै जनालाई नियन्त्रणमा लिएको हो ।