धनकुटा । बाहिरबाट ताला लगाएर एक जना वडाध्यक्षको घरमा अज्ञात व्यक्तिले आगो लगाइदिएका छन् । गएराति धनकुटाको पाख्रीवास नगरपालिका–६ का वडाध्यक्ष देवेन्द्र गुरागाईँको घरमा आगजनी गरिएको हो।

डाँडाखर्कस्थित आफ्नो घरमा परिवारका सबै सदस्यलाई भित्रै थुनेर लगाइएको उनले बताए । घरमा सुतिरहेको बेला ढोका बाहिर ताला लगाएर आगो लगाइएको वडाध्यक्ष गुरागाईँले बताए । राति १२ बजेपछि आगो लगाइएको उनको भनाइ छ ।

बरन्डाबाट हिँड्ने बाटो छ, त्यहाँको ढोकामा तलबाट चाबी लगाइदिएर तल्लो तलाबाट आगो लगाइ दिएछन् ,’ वडाध्यक्ष गुरागाईँले भने, ‘धुवाँको मुस्लो आउन थालेपछि निस्कन खोज्दा बाहिरबाट ताला लागेको रहेछ । छिमेकीलाई बोलाएर झ्यालमा भर्‍याङ लगाएर ज्यान चाहिँ जोगायौँ ।’

तल्लो तलामा रहेको भान्छा कोठाको ढोका खोलेर दुइटा ग्यास सिलिन्डर भेलागरी कपडाहरू पनि एक ठाउँमा थुपारेर आगो सल्काइएको उनले बताए । ‘किचनमा सिरक डस्ना र दुइटा सिलिन्डर एकै ठाउँमा भेला गरेर आगो लगाइएको रहेछ । माथिल्लो तलामा चढ्ने लिस्नो (भर्‍याङ) घर बाहिर थियो । लिस्नो घोप्टे बनाएका थियौं । हामी दिउँसो मुनिबाट घोप्टेमा ताला लगाउँथ्यौँ । हामीले नै प्रयोग गर्ने ताला लगाएर आगो लगाइएको रहेछ । तीन वटै कोठामा आगो लगाइएको रहेछ । तर धन्न हामी चाहिँ बाच्यौं ’वडा अध्यक्ष गुरागाईँले भने । घरमा गुरागाईँ दम्पति बस्ने गरेका थिए ।

प्रहरीले आगो लगाउने कार्यमा संलग्न रहेको हुन सक्ने आशंकामा एक जनालाई नियन्त्रणमा लिएको छ । एक जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको धनकुटा प्रहरीले जनाएको छ । ‘एक जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएका छौं,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोइरालाले भने ‘थप अनुसन्धान गरिरहेका छौं । वास्तविकता चाँडै खुल्छ ।’