संखुवासभा/ कोसी प्रदेशको पहाडी जिल्ला सङ्खुवासभाको धर्मदेवी नगरपालिकामा सामुदायिक पुस्तकालय स्थापना हुने भएको छ। दशवटा स्थानीय तह रहेको संखुवासभामामा पहिलो सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र निर्माणको काम अघि बढेको हो।

हाल भवन निर्माणको काम धमाधम भईरहेको छ। पुस्तकालय भवन साढे ३तलाको निर्माण हुनेछ। अहिले पहिलो तलाको ढलाई सकेर दोश्रो तलामा इट्टा जोड्ने काम भईरहेको छ।

pustakalayaधर्मदेवी नगरपालिका ३मुढेशनिश्चरेमा शान्ति भोलेन्टियर एशोसिएसन नेपाल, रिड नेपाल, धर्मदेवी नगरपालिका र द पिपुल अफ जापानको आर्थिक सहयोगमा २करोड ४७ लाख ७ हजार ७ सय ७८ मा ठेक्का सम्झौता भई तीनतले धर्मदेवी सामुदायीक पुस्तकालय तथा श्रोत केन्द्र बन्न लागेको भवन निर्माण उप–समितिका संयोजक सुरेन बस्नेतले जानकारी दिनुभयो।

सामुदायीक पुस्तकालय तथा श्रोत केन्द्रमार्फत समुदायमा आधारित व्यवसायिक तथा प्राविधिक सीप विकास गर्न पुस्तकालयमा पुस्तक मात्र नभई बिभिन्न सीपमूलक तालिम तथा कार्यक्रम गर्न सकिने निर्माण समितिका अध्यक्ष भीम लिंखाले बताउनुभयो।

समुदायका नागरिकलाई पठन संस्कृतिको विकास गर्ने लक्ष्यसहित पुस्तकालयको स्थापना गर्न लागिएको धर्मदेवी नगरपालिका वडा नम्बर ३का वडाध्यक्ष श्यामबहादुर पौडेलले जानकारी दिनुभयो। 

पुस्ताकालयको लागि भवन निर्माणको काम सम्पन्न भईसकेपछि धार्मिक, साहित्यिक, राजनितिक, आर्थिक, सामाजिक तथा समय सान्दर्भिक विभिन्न प्रकारका पुस्तक पढ्न पाइने समेत अध्यक्ष पौडेलले बताउनुभयो। 

सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रमार्फत समुदायमा आधारित व्यवसायिक तथा प्राविधिक सीप विकास प्रदान गर्ने उद्देश्यले स्थापना गर्न लागिएको धर्मदेवी नगरपालिकाका नगरप्रमुख उदयचन्द्र पौडेलले बताउनुभयो। नगरप्रमुख पौडेलका अनुसार लाइब्रेरी बहुआयमिक खालको निर्माण गर्न लागिएको बताउँदै सम्पन्न भएपछि सो लाइब्रेरी युवामैत्री, महिलामैत्री, बालबालिका मैत्री, जेष्ठ नागरिक मैत्री हुनेछ। 

सामुदायिक पुस्तकालय भनेको मानवीय जीवनपर्यन्त सिक्ने वातावरण तयार गरिएको एक शैक्षिक संस्था भएकाले समाजमा रहेको विभिन्न व्यक्तिहरुलाई केही समय जम्मा भएर पुस्तक अध्ययन गर्ने, भलाकुसारी गर्ने तथा स्थानीय स्तरका विभिन्न सूचनाहरुको जानकारी प्राप्त गर्ने साझा स्थान सो पुस्तकालय हुने नगरप्रमुख पौडेलको भनाई छ। अब केही समयभित्र निर्माण सम्पन्न भएर पुस्तकालय सञ्चालनमा आउने जनाइएको छ।