इटहरी/ इटहरीस्थित जनता स्कुल र कस्तुरी एकेडेमीका विद्यार्थीहरुले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका छन्। जनता स्कुलकी सिम्रन राई र कस्तुरी एकेडेमीका बिशेषता सत्याल सुहाना लिम्बुले अन्तराष्ट्रिय पदक जितेका हुन्।

जनता स्कुलमा अध्ययनरत कक्षा १०की सिम्रन राई प्रथम भारत अन्तर्राष्ट्रिय तेक्वान्दो फेस्टमा ४१ किलो तौल समुहमा प्रथम भएकी छिन्। यसैगरी उनले ३७ किलो तौल समुहमा दोस्रो स्थानसमेत हाँसिल गरेकी छिन्।

गोर्खा हिल तेक्वान्दो एशोसिएसन, सिलिगुरी तेक्वान्दो एकेडेमी, बंगाल तेक्वान्दो एशोसिएसन र दिल्ली पब्लिक स्कुल सिलिगुरीको आयोजनामा भएको प्रतियोगितामा उनले दुई महत्वपूर्ण पदक जितेकी हुन् ।

यसैगरी इटहरीकै कस्तुरी एकेडेमीका दुई छात्रालेसमेत सो प्रतियोगितामा पदक जितेका छन्। कक्षा ६की विशेषता सत्याल र कक्षा ९मा अध्ययनरत सुहाना लिम्बुले सब जुनियर महिलातर्फ कास्य पदक जितेको तेक्वान्दो प्रशिक्षक प्रसन्न तिम्सिनाले जानकारी दिनुभयो।

यस्तै जनता स्कुलकै अर्का छात्र कक्षा १०का आशिष लकान्द्री छैठौं राष्ट्रय केन्पो तेक्वान्दो प्रतियोगितामा दोश्रो भएका छन्। पोखरामा भएको प्रतियोगितामा ५५किलो तौल समुहमा उनले सो स्थान हाँसिल गरेका हुन्।

जनता स्कुलका व्यवस्थापन समिति अध्यक्ष काशीनाथ दंगाल र प्रधानाध्यापक पशुपति सिग्देलले आफ्ना बिद्यार्थीहरुलाई सम्मान गरेका छन्।