इटहरी/ सुनसरीको इटहरीस्थित जनता माध्यामिक बिद्यालयमा कक्षा ११ र १२मा बिज्ञान बिषयमा आकर्षण बढेको छ। कक्षा १० सम्म सिट क्षमताको तीन गुणा बिद्यार्थीले फर्म भरेको जनता स्कुलमा कक्षा ११ र १२ मासमेत बिद्यार्थीको आकर्षण तीव्र रहेको हो।

‘केही दिनयता मात्र दर्जनौं बिद्यार्थी र अभिभावक पढाइबारे बुझ्न आउनुभएको छ,’ स्कुलका प्रधानाध्यापक पशुपति सिग्देलले भन्नुभयो, ‘विद्यार्थी र अभिभावकहरुको यो आकर्षणले हामीलाई उत्साहित बनाएको छ।’

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालले यो वर्ष कक्षा ११ मा एक हजार विद्यार्थी भर्ना लिने गरी तयारी पुरा भएकोले अझै केही विद्यार्थीको लागि सिट खाली रहेको बताउनुभयो। उहाँले विद्यार्थी र अभिभावकको आकर्षणसँगै पुर्वाधार विकास अनि गुणस्तर सुधारलाई सँगसँगै लगिएकोले विद्यार्थीको आकर्षण बढेको जानकारी दिनुभयो। 

बिद्यालयले यो वर्षदेखि ९वटा कोठाको सुविधासम्पन्न साइन्स ल्याब सञ्चालनमा ल्याउँदैछ। कम्प्युटर ल्याब, लाइब्रेरीहरु यसअघि नै सञ्चालनमा आइसकेको छ। विद्यालयमा शिक्षा, मानविकी, कम्प्युटर साइन्ससहितको व्यवस्थापन, विज्ञान र कानुन विषय पढाइ हुन्छ।

५वर्षअघि १२ वटा कक्षा कोठाको विद्यालय अहिले ७६वटा कोठामा बिस्तार भएको छ। यस्तै ३२जना शिक्षक शिक्षिका तथा कर्मचारी रहेकोमा अहिले १४८ जना पुगेका छन्। बिद्यार्थी पनि ७७४ जनाबाट बढेर अहिले तीन हजार २सय भन्दा बढि छन्। 

बिद्यार्थी आवतजावतका लागि तीनवटा बस छन्। नेपाली र अंग्रेजी दुवै माध्यमबाट पठनपाठन हुने गरेको छ। कक्षा कोठाहरु प्रोजेक्टर, डिजिटल बोर्डसहित अत्याधुनिक र व्यवस्थित रहेको र सुविधाको हिसाबमा कुनै कमी कमजोरी नभएको विद्यालयका शिक्षक शिवराज दाहाल बताउनुहुन्छ। यस्तै शिक्षकसमेत दक्ष र अनुभवी रहेको उहाँले बताउनुभयो।

एसइइमा उत्कृष्ठ नतिजा ल्याएको दावी

जनता माविले कोसी प्रदेशमै एसइइमा उत्कृष्ठ नतिजा ल्याएको दावी गरेको छ।  स्कुलका सहभागी किद्यार्थीमध्ये १सय ४४जनाले ३ दशमलव २१–४ जीपीए प्राप्त गरेका छन् भने ४२ जनाले ३ दशमलव ६१–४ जीपीए र १२२ जनाले ३ दशमलव २१–३ दशमलव ६ जीपीए ल्याएको प्रिन्सिपल सिग्देलले जानकारी दिनुभयो।

यो संख्यामा उत्कृष्ठ नतिजा ल्याउने जनता स्कुल पहिलो भएको दावी गरिएको छ । 

एनजी ल्याउने सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क कोचिङ

यसैगरी जनता स्कुलले सामुदायिक विद्यालयबाट एनजी प्राप्त गरेका विद्यार्थीहरुलाई निःशुल्क कोचिङ पढाउने भएको छ। पुरक परिक्षाको तयारीका लागि कक्षा सञ्चालन गर्ने भएको हो। 

जुनसुकै सामुदायिक विद्यालयका बिद्यार्थीहरुले एनजी ल्याएको भए जनता माविको निःशुल्क कोचिङमा सहभागि हुन सक्ने दंगालले बताउनुभयो। सामुदायिक बिद्यालयको गुणस्तर सुधार गर्नका लागि सामाजिक दायित्व अन्तर्गत विद्यालयले यस्तो कार्यक्रम अघि बढाएको हो। यसअन्तर्गत विज्ञान, गणित, ऐच्छिक गणित र ऐच्छिक अर्थशास्त्र विषयमा कोचिङ कक्षा सञ्चालन गरिनेछ।

बिद्यालयका प्रिन्सिपल र अध्यक्षलाई अन्तर्राष्ट्रिय अवार्ड

विद्यालयले केही समयअघि प्रदेश सरकारबाट सुनसरीको नमुना बिद्यालयको रुपमा पुरस्कारसमेत जितेको थियो। यसैगरी दंगाललाई केही दिनअघि कम्बोडियामा बेस्ट मेनेजमेन्ट स्कुल अफ दि इयर अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरिएको थियो। यस्तै सिग्देललाईसमेत एजुकेसनल पर्फर्मेन्स २०२४ अवार्डबाट सम्मानित गरिएको थियो। जनता स्कुलको राम्रो व्यवस्थापन र राम्रो शैक्षिक कार्यक्रम सञ्चालन गरेवापत दंगाल र सिग्देलले यो सम्मान प्राप्त गर्नुभएको हो।