इटहरी/ सन् २०१६ देखि नेपालमा हुँदै आएको मोडल हन्ट ‘फेस अफ नेपाल’ यस बर्षदेखि नयाँ स्वरुपमा हुने भएको छ। प्रतियोगिताको आयोजक परिवर्तन भएसँगै यसको स्वरूपमा समेत परिवर्तन गरिएको हो।

यस वर्षदेखि मोडल हन्ट ‘फेस अफ नेपाल’ एमएस प्रोडक्सन नेपालले आयोजना गर्ने भएको हो। यसअघि काठमाडौँ केन्द्रित हुँदै आएको यो प्रतियोगिता यस वर्षदेखि भने देशव्यापी बनाउने तयारी गरिएको छ। इटहरीमा शनिबार पत्रकार सम्मेलन गर्दै आयोजकले कार्यक्रमका विषयमा जानकारी दिएको छ।

आयोजक संस्था एमएस प्रोडक्सन नेपालकी प्रबन्ध निर्देशक मेनुका माझीले यो सौन्दर्य प्रतियोगितामा महिला तथा पुरुष दुवैले सहभागिता जनाउन पाउने र यसका लागि वैशाख १७ गतेदेखि नै आवेदन खुल्ला गरिसकिएको बताएकी छन्।

प्रबन्ध निर्देशक माझीले प्रतियोगितामा १८ देखि माथिका पुरुष तथा महिला सहभागी हुन सक्नेछन्। यस्तै, उचाइमा ५ फिट ८ इञ्च अग्ला पुरुष तथा ५ फिट ५ इञ्च अग्ला महिलाले यो प्रतियोगितामा भाग लिन सक्ने माझीले बताएकी छन्।

आवेदन फारम खल्ति एप तथा अनलाइनबाट दिन सकिनेछ। प्रतियोगिताको अफिसियल फेसबुक पेजमा पोस्ट गरिएको लिंकमा क्लिक गरेर त्यहाँ मागिएको आवश्यक पर्ने विवरण भर्नुपर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

सातै प्रदेशमा अडिसन गर्ने तयारी आयोजकको छ। पहिलो अडिसन यहि असार ११ गते इटहरीको होटेल उत्सवमा गरिने छ। प्रतियोगिताको ग्राण्ड फिनाले भने काठमाडौँमा गरिने आयोजकको तयारी छ।

छनौट प्रक्रिया अगाडि बढेपछि सहभागिताका लागि देशका ख्यातिप्राप्त प्रशिक्षकहरूद्वारा १५ दिनको तालिम दिइनेछ। सहभागी हुनेहरूमध्ये आगामी जुलाईमा हुने फिनालेमा जजको मूल्याङ्कन र भोटिङबाट तीनजना विजेता घोषणा हुनेछन्।

फिनाले पश्चात् यसका विजेताहरूले आगामी नोभेम्बरमा दक्षिण कोरियामा आयोजना हुँदै आएको मोडल हन्ट ‘एसिया मोडल फेस्टिभल’ मा सहभागी जनाउन पाउनेछन्। सो प्रतियोगितामा एसियाभरका २७ भन्दा बढी देशले सहभागी जनाउने बताइएको छ।