इटहरी/ व्यापारिक हबको रूपमा बिकास भईरहेको सहर, इटहरी । यसको मुख्यबजार क्षेत्रमै पर्छ वडा नम्बर ६ । सहरको मध्य भागमा रहेको वडामा सडक सञ्जाल, शिक्षा, स्वास्थ्य, खानेपानीलगायत सबै सुविधा उपलब्ध छ । अन्य वडालाई यी पूर्वाधार पु¥याउन हैरानी छ। तर, यो बनि बनाऊ वडा यहाँ गर्नुपर्ने खासै केही छैन । 

सबैलाई यस्तै लाग्न सक्छ । तर वडा नम्बर ६ का अध्यक्ष दिवस पोख्रेल भन्छन्, ‘यहाँ त गर्नुपर्ने धेरै काम रहेछ।’ बाहिरबाट हेर्नु र कुर्सीमा बसेर काम गर्नुमा धेरै अन्तर रहेछ पोख्रेलले भने,‘गर्नै नचाहनेलाई त यहाँ सबै पुगेकै छ तर केही गर्छु भन्नेलाई कामै काम छ । काम पो कति गर्न सकिने हो ?’

वडा अध्यक्ष पोख्रेल प्राय बजार क्षेत्रमै भेटिन्छन्। राती अबेर सम्म पनि काममै खटिएका हुन्छन्। बिहानै मर्निङवाकमा पनि कहाँ के भयो भन्दै हिँडिरहेका भेटिन्छन्। 

वडा अध्यक्ष भएपछि उनका लागि चुनौती थियो मुख्य बजारलाई डुबानबाट कसरी बचाउने। त्यो चुनौती अहिले पनि छ। डुबान रोक्न रोकिएका ब्लकेज खोल्ने काम पोख्रेलले शुरु गरे। बषौँ देखी पुरिएका ड्रेन उनले सफा गराए। 

drenनिर्वाचित भएपछि शुरु भएको ड्रेन सफाई अभियान अहिले पनि जारी छ। भर्खरै मात्र सङ्गित चोक जाने बाटोमा लामो समय देखी अतिक्रमित रेडक्रस भवन भत्काएर बेलाहा पैनि सफा गरिएको छ। पैनीमाथि बनेका घरहरू पनि भत्काएर सफा गर्ने काम निरन्तर चल्ने अध्यक्ष पोख्रेल बताउँछन्। 

ट्राफिक लाइट र पार्किङ 

बढ्दो ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गर्न प्रदेश सरकारको सहयोगमा कोसी प्रदेशमै पहिलो पटक इटहरीमा ट्राफिक लाइट जडान भयो। वडा अध्यक्ष पोख्रेलकै अगुवाइमा ट्राफिक लाइट जडान भएको हो।

itahari choukमुख्य चोकमा सडक नै ढाकेर सवारी साधनको पार्किङले शहर कुरूप र थप साँघुरो बनेपछि पार्किङलाई रिजालटासीमा स्थानान्तरण गरिएको छ। अहिले मुख्यचोक सफा देखिन थालेको छ। 

डिजिटल इटहरीको शुरुवात

इटहरीमै पहिलो पटक वडा नम्बर ६ले डिजिटल नम्बर प्लेट वडावासीलाई वितरण गरेको छ। व्यवसायीक हव भएकाले यो आवश्यक पनि हो। गुगलको प्लस कोड अनुसार डिजिटल नम्बर प्लेट वितरण गरिएका कारण सहजै घर तथा ठाउँ पहिचान गर्न सजिलो भएको छ। यसलाई विस्तार गर्दै डिजिटल सेवा थप विकास र विस्तार गर्ने वडा नम्बर ६ले बनाएको छ। 

cctv 5भौतिक पक्षमा मात्रै नभएर सामाजिक क्षेत्रमा पनि काम गरेको वडा अध्यक्ष पोख्रेल बताउँछन्। ज्येष्ठ नागरिकहरूलाई सामाजिक सुरक्षा भत्ता घर घरमै पुर्‍याउने व्यवस्था मिलाएको उनले बताए। बैङ्कसँगको समन्वयमा बैङ्कले नै अशक्त अपाङ्गता भएका ज्येष्ठ नागरिकहरूलाई घरमै भत्ता वितरण हुने गरेको छ। 

ज्येष्ठ नागरिकहरूका लागि वडा कार्यालय नजिकै भवन पनि बनाइदिएको अध्यक्ष पोख्रेलले बताए। उपमहानगर र वडाको संयुक्त लगानीमा भवन निर्माण गरिदिएको उनले जानकारी दिए। 

अबको ध्यान शहरको सौन्दर्यकरणमा हुने अध्यक्ष पोख्रेल बताउँछन्। यसको सुरुवात उनले खेतिखोलाको किनारबाट गरेका छन्। नमुनाको रूपमा १सय मिटर क्षेत्रफलमा खेति खोला किनारमा रेलिङ लगाइएको छ,सडक बत्ति जडान गरिएको छ। उपभोक्ता समितिमार्फत यो काम भएको हो। 

आगामी वर्ष इटहरीको मुख्य बजार भएर बग्ने टेँग्राखोला कोरिडोरलाई सौन्दर्यीकरण गरिने उनले योजना बनाएका छन्। मुख्य हाइवे क्षेत्रमा भने सौन्दर्यीकरणको काम गर्न समस्या भएको उनले बताए । सडक विस्तारको कामले समस्या भएको उनको भनाई छ। 

दिवस पोख्रेल वडा अध्यक्षमा निर्वाचित भएको २ वर्ष पुरा भएको छ। उनै वडा अध्यक्ष दिवस पोख्रेलसँग उनले गरेका कामको विषयमा गरिएको कुराकानी : 

इटहरी वडा नम्बर ६ कस्तो वडा हो ?

इटहरी उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा पर्छ, वडा नम्बर ६ । व्यस्त सहरको बीचमा रहेकोले मानिसहरूको आउने जाने क्रम हुँदा अलि बढि भिडभाड हुने गर्छ । दैनिक १ लाख मानिसहरूको आवतजावत हुन्छ। व्यवसायीक र आर्थिक कारोबारको केन्द्र पनि हो। व्यापार व्यवसाय, बैङ्क वित्तीय संस्था तथा अन्य विभिन्न सामाजिक सङ्घ संस्थाका र सरकारी कार्यालय प्रदेश कार्यलयहरु पनि छन्। 

१ हजार ८ सय ४० घरधुरी संख्या छ भने यस वडामा ४ हजार ७ सय १५ मतदाता छन् । सबै जातजाति, धर्म सम्प्रदायका मानिसहरू मिलेर बसेका छन्।  

इटहरीको व्यस्त बजार भिडभाड धेरै हुन्छ ? यसलाई व्यवस्थापन गर्न वडा के के गर्नुभयो?

मैले अघि पनि भने यो वडा व्यस्त बजार क्षेत्रमा पर्छ। सवारी साधनको बढि भिडभाड, मानिसहरूको बढी आवत जावत हुने भएकाले दिनभर जसो नै व्यस्त हुन्छ। वडा कार्यालयले ट्राफिक व्यवस्थापनका लागि समन्वयकारी काम गर्दै कोसी प्रदेशमै पहिलो पटक ट्राफिक लाइट जडान गर्ने काम भयो। 

IMG_5922प्रदेश सरकारले दिएको साढे २६लाख रुपैँयाको लागतमा मुख्य चौकमा ट्राफिक लाइट जडान गरिएको छ। यसले ट्राफिक व्यवस्थापनमा सहयोग पुगेको छ। सडक ढाकेर पार्किङ गर्दा शहर अस्तव्यस्त भएपछि मुख्य चौकको पार्किङलाई रिजालटासी अगाडी स्थानान्तरण गरेका छौँ। यसले पार्किङको समस्या केही कम भएको छ। पार्किङको समस्या समाधानका लागि मुख्य चौक देखी ३ सय मिटर वरपर पार्किङ निषेधितको नीति अवलम्बन गरिएको छ। यसले मुख्य चौकमा हुने अव्यवस्थित पार्किङको समस्या समाधान भएको छ। 

अर्को,बाटो नै साँघुरो हुने गरी केही घरहरूले सडकको क्षेत्राधिकार नै मिचेर भौतिक संरचना बनाएका थिए । विराटनगर लाइनका घरबेटिसँग समन्वय गरी उहाँहरूकै सहयोगमा अतिक्रमित घर भत्काएर बाटो क्लियर गर्ने काम गरेका छौँ। भित्री सडकहरूमा पनि व्यवसायी साथीहरूले सामानहरू सडकमै राखेर व्यापार व्यवसाय गर्ने गरेको अवस्था थियो । व्यवसायीहरूसँग छलफल गरी सडक र फुटपाथ क्लियर गर्ने काम गरेका छौँ। 

वर्षाको समयमा इटहरी सधैँ डुबान हुन्छ, विशेष गरी मुख्य चौक क्षेत्र र नगरपालिका कार्यालयको गेट अगाडी डुबान हुन्छ ? डुबान नियन्त्रणका लागि के कस्ता काम भयो ?

प्राय पुराना अव्यवस्थित हिसाबले बनेका घर तथा भौतिक संरचनाले गर्दा पानीको बहावमा समस्या हुँदा बजार डुब्ने समस्या छ। त्यसका लागि हामीले ड्रेन पैनी सरसफाइको कामलाई तीव्रता दिएका छौँ । बषौँ देखी सफा नगरिएका ड्रेनहरू हामी आएपछि सफा भए। जसले ड्रेन एरियामा ब्लकेज गरेर घर बनाएका छन्, पैनीमाथि बनेका घरहरू छन्। त्यसलाई भत्काएर सफा गर्ने काम निरन्तर गरिरहेका छौँ। भर्खरै मात्र पनि इटहरीको मुख्य चोकबाट सङ्गित चोक जाने बाटोमा अतिक्रमित रेडक्रस भवन भत्काएर पैनि सफा गर्ने काम भएको छ । त्यस्तै आर्मी क्याम्प अगाडीबाट आएको पानीलाई व्यवस्थित गर्न ड्रेनको काम जारी छ। प्रदेश सरकारले दिएको ७२ लाखको लागतमा २ सय मिटर लम्बाइको बेलाहा पैनीलाई ड्रेन लगाएर स्लाब बनाउने काम जारी छ। यो बनेपछि पानीलाई हाइवेको मुख्य ड्रेनमा लगेर मिसाएपछि डुबानको समस्या घट्ने छ। 

यस्तै अन्य साना ठुला पैनीका ब्लकेज खोल्ने काम गरेका छौँ। वि.पी चोकमा पनि ठुलो कलभर्ट निर्माण गरिएको छ। उपमहानगर कार्यालयको गेटमै ठुलो पानी पर्दा जम्मा हुने समस्या थियो। हामीले त्यहाँ कटिङ गरेर भित्रपाइप बिच्छाएर पानी निकास हुने बनाइएका छौँ। पानी पर्दा जम्मा हुन्छ तर धेरै समय जम्मा हुँदैन बगेर जान्छ। यो सिस्टम अनुसार २ ठाउँमा काम गरेका छौँ। अन्य २ ठाउँमा काम गर्न बाँकी छ। 

अन्य वडा भन्दा फरक कामचाहिँ के भयो ?

वडा नम्बर ६ व्यवसायीक हब भएको हुनाले कतिले सामान ढुवानी गर्नुपर्ने हुन्छ । व्यवसायीहरूले सामान डेलिभरी दिनुपर्ने हुन्छ। लोकेसन थाहा नहुन सक्छ । यस्का लागि हामीले प्लस कोडसहितको डिजिटल नम्बर प्लेट वितरण गरेका छौँ। केही बाँकी छ त्यो पनि वितरण गर्ने तयारीमा छौँ । डिजिटल नम्बर प्लेटमा गुगल प्लस कोड हुन्छ। जसका आधारमा अनलाइनबाट सजिलै घर पत्ता लगाउन सकिन्छ। 

बजारमा सिसि क्यामरा र रात्रि लाइट लगाउने काम शुरु भएको थियो त्यसमा कति काम भयो ?

यसमा धेरै काम भएको छ । लगभग अब ६नम्बर वडालाई सिसि क्यामराबाट कैद गर्न सफल भएका छौँ। इटहरीको पूर्वपश्चिम, उत्तर दक्षिण हाइवे, मुख्यबजार, व्यस्तबजार र सार्वजनिक स्थलमा सिसि क्यामरा जडान भएको छ। 

६ नम्बर वडाका भित्री सडकहरुमा पनि सिसि क्यामरा जडान भएका छन्। सबै ठाउँमा गरी ९६ वटा क्यामरा जडान भएका छन्। सिसि क्यामरा अपराध नियन्त्रणमा पनि काम आउन थालेको छ। सि सी टिभी फुटेज हेरेर धेरै आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ। बजारमा कुनै घटना भएको अवस्थामा सिसि क्यामराको फुटेज हेरेर तुरुन्तै छानबिन गर्ने र संलग्न मानिसलाई पक्राउ गर्न सफल भएको छ। 

सडकका पोलमा पुराना चिमहरू बिग्रिएको, राती नबल्ने समस्या थियो। पुराना बत्तिहरूलाई परिवर्तन गरी सेन्सर लाइट लगाएका छौँ। ठाउँ ठाउँमा टावर बत्तिपनि जडान गरिएको छ। उज्यालो वडा नीतिलिएर काम गरिरहेका छौँ। तपाईँहरूले मुख्यबजार क्षेत्रमा रातीको समयमा हिँड्दा यो अनुभव गर्न सक्नुहुन्छ।   

इटहरी बजारको शौचालयको समस्या कसरी समाधान गर्नुभयो ?

यो विषयमा धेरै गुनासो पनि आयो । बजार क्षेत्रमा किनमेलका लागि आउने, यात्रु तथा बाटो हिँड्ने बटुवाहरूका लागि सार्वजनिक शौचालय निर्माण गरेका छौँ। उपयुक्त जग्गाको खोजी गरी इटहरीको मुख्य चौक आकेश कलेक्सन अगाडी सार्वजनिक शौचालय निर्माण गरिएको छ। यस्तै विशाल बजार भित्र पनि घरबेटीसँग समन्वय गरी त्यहाँ पनि शौचालयको व्यवस्थापन गरिएको छ। 

शिक्षाको क्षेत्रमा वडाले के के काम गरेको छ ?

यस वडामा २ वटा सामुदायीक र ११ वटा निजी गरी जम्मा १३ वटा विद्यालयहरू छन्। विद्यालयमा शैक्षिक गुणस्तर सुधारमा काम भएको छ। कबीर मा.वि साँघुरो भएको, पुरानो टिनको छानो भएको भवन जीर्ण अवस्थामा थियो। विद्यार्थीहरूले राम्ररी बसेर पढ्ने नभएपछि हामीले त्यहाँ ३ वटा कोठा भएको एउटा ब्लक पक्कि भवन बनाईदिँदैछौँ । निर्माणको काम जारी छ।

उपमहानगरले गुणस्तर सुधारका लागि छुट्टै योजना नै सार्वजनिक गरिसेकेको छ। हामीले पनि नगरको योजना अनुसार नै काम गर्दैछौँ। 

स्वास्थ्यका क्षेत्रमा केके काम भए ?

स्वास्थ्य क्षेत्रमा हामीले पहिलो पटक स्तन क्यान्सर परिक्षण शिविर आयोजना गयौँ। काठमाण्डौँबाट मेडिकल टिम बोलाएर महिलामा हुने स्तन क्यान्सरको जोखिम पहिचान गर्न मेसिनमार्फत क्यान्सर परिक्षण गरियो। यसमा करिब ४ सय महिलाको स्तन परिक्षण गरियो। जसमा १६ जनामा समस्या पहिचान पनि भएको थियो। 

यस्तै वडामा रहेको आधारभूत स्वास्थ्य केन्द्रमार्फत नियमित रूपमा जाँच र आवश्यक औषधी वितरण गर्ने भइरहेको छ। नगरबासीले माग गरे अनुसार स्वास्थ्य शिविर पनि सञ्चालन गर्दै आएका छौँ। 

तपाई खेल प्रेमी हुनुहुन्छ, आफै पनि खेल खेलि रहनुहुन्छ, खेलकुद क्षेत्रको विकासका लागि चाहिँ के के गर्नुभयो ?

उत्कृष्ट खेलाडी तथा खेलसँग जोडिएका महानुभावहरू फुटबल, भलिबल, मार्सल आर्ट लगायतका खेलसँग जोडिएका व्यक्तिहरूलाई सम्मान गर्ने गरेका छौँ। खेलका लागि चाहिने, कार्यक्रमका लागि चाहिने सामाग्रीहरू वितरण गर्ने गरेका छौँ। जतिपनि खेल प्रतियोगिताहरू सञ्चालन हुन्छन्, अवस्था हेरेर आवश्यक आर्थिक सहयोग पनि गरेका छौँ। ग्रास रुट कार्यक्रम जसले तल्लो तहबाट खेलाडी उत्पादन गर्छ, सो कार्यक्रमका लागि वडाले छुट्टै सहयोग गरेको छ।