इटहरी/ इटहरी उपमहानगरपालिकाका जनप्रतिनिधिहरूले कार्यभार सम्हालेर काम शुरु गरेको २ बर्ष पुरा हुनै लागेको छ। शुरुका केही समय कर विवादमा फसेको इटहरी उपमहानगरपालिकाले पछिल्ला दिनमा गरेका कामले नगरबासीको ध्यान तान्न सफल भएको छ। 

यो अवधिमा उपमहानगरपालिकाले धेरै काम गर्‍यो। कामको लिष्ट लामै होला । तर आम सर्वसाधारण नगरबासीले उपमहानगरको कामलाई कसरी मुल्यांकन गरेका छन् त ?हामीले २ बर्से कार्यकाललाई कसरी सम्झनुहुन्छ भनि नगरबासीहरुलाई सोधेका छौँ। जस मध्ये अधिकांशले मुख्य ५ काम सम्झिएको प्रतिक्रिया दिएका छन्। 

खोलापैनी सफाई, इटहरी अस्पतालको सुधार, विद्यालय खाजा कार्यक्रम तथा शैक्षिक गुणस्तर सुधार, नागरिक सहायता कक्ष र पूर्वाधार विकासको काम नगरबासीले रुचाएका ५ काम हुन्। 

हामीले कुराकानी गरेका मध्ये धेरैले मुख्य रूपमा यी ५कामलाई जोडेर प्रतिक्रिया दिएका छन्। दैनिक जनजीवनसँग जोडिएको र प्रत्यक्ष अनुभव गर्न पाएकाले राम्रो लागेको उनीहरूको भनाई छ। 

खोलापैनी सफाई : खोलापैनी सफाईको कामलाई अधिकांश नगरबासीले राम्रो काम भनेर प्रशंसा गरेका छन्। वर्षामा डुबानको पिडा भोग्दै आएका नगरबासीले खोला सफा भएपछि डुबान नहुने अपेक्षा गरेको बताए। अघिल्लो कार्यकालमा चर्चा मात्रै भएको तर काम नहुँदा नगरबासीले यस पटक पनि काम हुन्छ भन्ने सोचेका थिएनन्। तर उनीहरूको सोचाई विपरीत खोला सफाई भईरहेको छ । यसकारण पनि उनीहरूको ध्यान तानिएको हो। इटहरी वडा नम्बर २ निवासी राधिका तिम्सिनाले खोला सफाईको काम राम्रो लागेको प्रतिक्रिया दिइन्।

‘नयाँ मेयर आएपछि खोला नाला सफाइ देखी टेङ्ग्राखोला सफाई समेत भयो, बाटो सडक पनि बनेको छ । राम्रै काम भएको देखेका छौँ।’ तिम्सिनाले भनिन्, ‘मेयर सावले स्कुल पनि सुधार गर्छु भन्नुभएको छ । त्यो पनि राम्रै लागेको छ।’ ‘खोला सफा भएपछि डुबान हुँदैन कि भन्ने लागेको छ’ उनले थपिन्।

‘बाढि आउला भन्ने डर सधैँ हुन्छ, तर यो वर्ष खोला सफा गरेको छ। बाढि नपस्ला कि भन्ने लागेको छ । हेरौँ के हुन्छ ।’ इटहरी ४ कि विमला भट्टराईले भनिन्। नगरपालिकाले गरेको राम्रो काम उनलाई यहि खोला पैनी सफाई नै लागेको बताइन्। प्रतिक्रिया व्यक्त गर्ने अन्यले पनि यो विषयलाई भन्न छुटाएनन् । टेङ्ग्राखोलाले दिएको दुःख सम्झिएका नगरबासीलाई यो कामले निकै खुसी बनाएको छ।  

उपमहानगरपालिकाले भर्खरै खेती खोला पनि सफा गर्न खोलाको क्षेत्राधिकारको जग्गा खाली गर्न सूचना जारी गरेको छ। यसले पनि नगर बासीलाई हौस्याएको छ । अब धेरैलाई खेती खोलाको पनि सफाइ हुने विश्वास बढेको छ। त्यहाँ पनि खोलाको जग्गामा बनाइएका घर भत्किएलान् भन्ने लागेको छ।  

इटहरी अस्पतालको सुधार : इटहरी वडा नम्बर ९का बद्रिशर्माले अचेल नियमित रूपमा स्वास्थ्य जाँचका लागि इटहरी अस्पताल जाने गरेको बताए। पहिले बिमाको रेफर लिन मात्रै जाने उनि अहिले भने इटहरी अस्पतालमै चेकजाँच गर्ने गरेको बताए। विशेष गरी नियमित रूपमा डाक्टर भेटिने, ब्लड, सुगर, ई सिजी, एक्स रेलगायतका चेकजाँच पनि हुन थालेपछि ठुलो समस्या आएमात्रै धरान विराटनगर जानुपरेको उनले सुनाए। 

यस्तै इटहरी ९ कै श्याम घिमिरेले अस्पतालमा सुधार आएको आफूले प्रत्यक्ष अनुभव गरेको बताए। ‘अहिले अस्पतालको सेवाको स्तर वृद्धि भएको छ। सेवा वृद्धि भएपछि अहिले मानिसहरू अस्पतालमा चेकजाँचका लागि जाने गरेको मैले अनुभव गरेको छु।’ उनले भने। यी २ जनाले जस्तै अनुभव सुनाउने अन्य नगरबासीले पनि इटहरी अस्पतालमा सुधार आएको प्रत्यक्ष अनुभव गरेको प्रतिक्रिया दिएका छन्।

अस्पतालमा के कति सुधार आएको छ, २ अघि र पछिको अवस्था तुलना गर्दा सजिलै थाहा हुने नगरबासीको भनाई छ। अस्पतालमा आएको सुधारको सङ्केत त्यहाँ हुने भिडभाडले पनि गर्छ। भीड बढेपछि अझै प्रभावकारी व्यवस्थापनको माग हुन थालेको छ। स्वास्थ्य उपचारको सुधार प्रत्यक्ष देख्न र अनुभव गर्न पाएको र स्वास्थ्य क्षेत्रमा हुने खर्च कटौती समेत भएको नगरबासीले बताएका छन्। दैनिक जनजीवनसँग जोडिएको स्वास्थ्य क्षेत्रमा आएको सुधारले नगरबासीको ध्यानाकर्षण गर्न सफल भएको देखियो। 

विद्यालय खाजा कार्यक्रम, शैक्षिक गुणस्तर सुधार : सामुदायिक विद्यालयमा शुरु भएको विद्यालय खाजा कार्यक्रमलाई पनि नगरबासी अभिभावक र विद्यार्थीले राम्रो काम भनेका छन्। उपमहानगरले गरेका काम मध्ये राम्रो काम विद्यालय खाजा कार्यक्रम रहेको प्रतिक्रिया दिएका छन्। शुरुवातमा केही विवादास्पद कुरा आए पनि अहिले भने प्रभावकारी रूपमा सञ्चालन भईरहेको उपमहानगरपालिकाले जनाएको छ। 

विद्यालयमा अनियमित भएका विद्यार्थीलाई नियमित बनाउन र विद्यालय जान उत्प्रेरित गर्न  विद्यालय खाजा कार्यक्रम सफल भएको सरस्वती जब्दी मा.विकी शिक्षिका प्राथना त्रितालले बताइन्। विशेष गरी विपन्न समुदायका विद्यार्थीलाई धेरै राहत भएको शिक्षिका त्रितालको भनाई छ। 

यो कार्यक्रम शुरु भएपछि सामुदायिक विद्यालयमा उल्लेख्य मात्रामा विद्यार्थीको संख्यामा वृद्धि भएको उनले जानकारी दिइन्। अर्कोतर्फ विद्यालयमा अङ्ग्रेजीको पठनपाठनले गर्दा बोर्डिङ स्कुलका बिद्यार्थीहरू पनि सामुदायिक विद्यालयमा आकर्षित भएको उनले बताइन्। यसले सामुदायिक विद्यालयहरू पनि सुधार भएको आफूले प्रत्यक्ष अनुभव गरेको उनको भनाई छ। 

अघिल्लो शैक्षिक सत्रदेखि उपमहानगरपालिका आफैले कक्षा ६ सम्म विद्यालय खाजा कार्यक्रम शुरु गरेको थियो। खाजा कार्यक्रम यो शैक्षिक सत्रदेखि थप व्यवस्थित गर्ने उपमहानगरले जनाएको छ। 

विद्यार्थीहरूलाई पौष्टिक आहारा खुवाउन सामुदायिक विद्यालयमा खाजा कार्यक्रम शुरु गरिएको थियो। सामान्य चिउरा भुजा खाने बिद्यार्थीले अहिले ६दिन फरक फरक किसिमका पौष्टिक खानेकुरा खान पाएका छन्। पौष्टिक खाजा खुवाउने कार्यक्रमले विद्यालयमा विद्यार्थी ड्रप आउट हुने समस्या समाधान भएको छ। विद्यार्थीहरू सबै जसो दिन विद्यालय जान थालेका छन्, भने पुरा दिन कक्षामा बसेर पढ्न थालेका छन्। 

इटहरी ६का नवराज सुवेदीले शैक्षिक क्षेत्र सुधारका लागि मेयर हेमकर्ण पौडेलले शुरु गरेको अभियानले राम्रो प्रभाव पारेको बताए। विद्यालय खाजा कार्यक्रमसँगै सामुदायिक विद्यालय सुधारका लागि शुरु गरिएका पहलले पूर्णता नपाईसके पनि निरन्तरता भए सफल हुने देखिएको उनले बताए। 

शैक्षिक क्षेत्र सुधार गर्न यो वर्ष लागु गर्ने गरी मेयर हेमकर्ण पौडेलले २७ बुँदे सङ्कल्पपत्र जारी गरेका छन्। निजी विद्यालयको व्यवस्थापन गर्न शुल्क निर्धारण गर्ने विषयलाई पनि नगरबासीले राम्रो काम भनी प्रतिक्रिया दिएका छन्। भर्ना शुल्क लिन नपाउने नियमलाई अभिभावकहरूले राम्रो भनेका छन्। यसै शैक्षिक सत्रदेखि सबै विद्यालयमा एउटै पोशाकको निर्णयले सामुदायिक विद्यालयका बिद्यार्थी उत्साहित भएका छन्। 

एउटै पोशाकको विषय निजी विद्यालयले विवाद सृजना गर्दै अदालत सम्म मुद्दा परेको थियो। तर अदालतबाट पनि अन्तरिम आदेश नआएपछि उपमहानगरले लागु गर्ने बताउँदै आएको छ। यो विषयले पनिनगर बासीअभिभावक र विद्यार्थीहरूलाई आकर्षण गराएको छ। 

नागरिक सहायता कक्ष र प्रशासन सुधार : सेवा लिन पुगेका नगरबासीले पहिले कहाँ जाने अलमल हुने तर सहायता कक्ष स्थापना पछि सजिलो भएको बताएका छन्। सेवालिन पुगेका जो कोही सेवाग्राही नागरिक सहायता कक्षमा एकपटक पुग्ने र अलमल भए सोधपुछ गरी काम गर्ने गरेका छन्। नागरिक सहायता कक्षमा निःशुल्क चिया कफीको विषयले नगरबासीमा राम्रै चर्चा पाएको छ। 

उपमहानगरपालिकाको नागरिक सहायता कक्षमा भेटिएका सेवाग्राही रमेश बस्नेतले काम सकेर कालो कफी खाएर बसेको बताए। कर्मचारीले सजिलै काम गरिदिएको बताएका बस्नेतले काम सकेर कफी खान आएको बताए। बाहिर सुने जस्तै रहेको पाइएको उनले बताए। 

शाखा महाशाखामा कर्मचारी भेटिने, हुने भिडभाड हटेपछि सेवाग्राहीले परिवर्तनको महसुस गरेका छन्। प्रदान गरिने कतिपय सेवालाई अनलाइन बनाइएको छ। नगरबासीले घरमै बसाबसी सेवालिन सक्ने वातावरण तयार छ।

घर नक्सालाई अनलाइन बनाइएको छ। जसले गर्दा पहिले जस्तो फाइल बोकेर धाउनुपर्दैन । भिडभाडमा लाइन लाग्नुपर्दैन। कर तथा राजश्व तिर्न मोबाइल तथा अनलाइनबाट सजिलै तिर्न सकिने भएकाले नगरबासीले सेवामा सुधार आएको महसुस गरेका छन्। 

पूर्वाधार विकास : पूर्वाधारको क्षेत्रमा सडक, पुलनिर्माणमा पनि उपमहानगरले राम्रै काम गरेको नगरबासीले बताएका छन्। पुरानो बसपार्कलाई नयाँ आधुनिक निर्माण शुरु भएको, आकाशे पुल, आधुनिक सभाहल बन्न ठेक्का लागेको विषयलाई पनि राम्रो काम भनी उनीहरूले प्रतिक्रिया दिएका छन्। इटहरी चोकमा बन्ने भनिएको आकाशे पुल चाँडै समयमै पुरा भएको हेर्न चाहेको प्रतिक्रिया दिएका छन्। 

स्थानीय श्याम घिमिरेले इटहरीमा अत्यन्तै आवश्यक देखिएको आकाशे पुल निर्माण गर्ने विषय आफूलाई राम्रो लागेको बताए। आकाशे पुल तोकिएको समयमै निर्माण सम्पन्न भए इटहरीको ट्राफिक व्यवस्थापनमा सुधार आउने घिमिरे बताए।