सुनसरी/ साविक विजेता सगरमाथा युथ क्लब १४ औँ संस्करणको इटहरी गोल्डकपको सेमिफाईनल प्रवेश गरेको छ। इटहरी रंगशालामा शनिबार राती सम्पन्न उद्घाटन खेलमा बिभागीय टिम शसस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै सगरमाथाले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। 

सगरमाथाको जितमा विमल घर्तीमगरले २ र बिदेशी खेलाडी स्टेफिन समिर विलोङले १ गोल गरे। खेलको सुरुवात तेस्रो मिनेटमै स्टेफिन विलोङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। खेलको ३६ औँ मिनेटमा बिमल घर्तीमगरले आफ्नो लागि पहिलो र टिमका लागि दोश्रो गोल गर्दै सगरमाथालाई २–० को स्थितिमा पुर्‍ याए। विमलले सो गोल शुसिल राईको पासमा गरेका थिए।

 winner

दोस्रो हाफमा आक्रमक खेल प्रस्तुत गरेको एपिएफले खेलको ६६औँ मिनेटमा गोल फर्काउँदै खेलमा फर्कने प्रयास गरेको थियो। एपिएफका लागि सो गोल सब्सीच्युट खेलाडी अनिस महर्जनले गरेका थिए। उनि ५७ औँ मिनेटमा महेश लामाको स्थानमा मैदान प्रवेश गरेका थिए। कमजोर डिफेन्सको फाईदा उठाउँदै अनिसले कुलदिप कार्कीको पासमा हेडमार्फत आकर्षक गोल गरे। मछिन्द्र क्लबका अधिकांश खेलाडी लिएर मैदान उत्रेको सगरमाथाका लागि ८८औँ मिनेटमा बिमलले व्यक्तिगत दोस्रो गोल र टिमका लागि तेश्रो गोल गर्दै टिमको जित सुनिश्चित गरे। उनले विजय भुजेलले उपलब्ध गराएको पासलाई सिधै जाली चुमाए। 

खेलको म्यान अफ द म्याच विमल नै घोषित भए। उनले नगद १० हजार रुपैँया पुरस्कार प्राप्त गरेका छन्।

man of the match

आईतबारको दोस्रो क्वाटरफाईनल खेल आयोजक राष्ट्रिय जागृती क्लब र कञ्चनजङ्घा फुटबल क्लब भारत बीच हुनेछ। प्रतियोगिताको बिजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैया पुरस्कार पाउनेछ।