बिराटनगर/ पाहुना टोली सिक्किम ड्रागन आठौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनमा पुगेको छ। सिक्किम ड्रागनले अतिरिक्त समयमा संघर्षपूर्ण जित निकाल्दै प्रतियोगिताको सेमिफाइनमा पुगेको हो।

सहिद रंगशाला बिराटनगरमा आइतबार भएको खेलमा बुढासुब्बा गोल्डकपको बिजेता न्यूरोड क्लब (एनआरटी) काठमाण्डौंलाई २–१ गोलले पराजित गरी सिक्किम सेमिफाइनलमा पुगेको हो। 

जितसँगै सिक्किमले फाइनल प्रवेशको लागि मंगलबार हुने मच्छिन्द्र एफसी काठमाण्डौं र साथर्न समिति एफसि कोलकत्ताको बिजेता टिमसँग खेल्नेछ। 

जितको लागि सिक्किमका ह्यारिसन र आर्दश तामाङले गोल गरे। एनआरटीको तर्फबाट शिशिर लेखीले सान्तवना गोल फर्काए। 

एनआरटीका अफिज ओलावालेले ४०औं मिनेटमा निकालेको पास शिशिरले गोल गरी टिमलाई अग्रता दिलाए। पहिलो हाफमा एक गोल खाएपछि दबाबमा परेको सिक्किमले दोस्रो हाफबाट आक्रमक खेल पस्कियो। ५९ औ मिनेटमा सिक्किमका ह्यारीसनले गोल गरी खेल बराबरीमा ल्याए। लाक्पा शेर्पाले मध्यभागबाट निकालेको पासलाई ह्यारीसनले डिबक्स भित्रबाट आकर्षक गोल गरे। 

निक्कै प्रतिस्पर्धात्मक खेलमा सिक्किमले जित निकाल्न अतिरिक्त समय कुर्नुपर्यो। निर्धारित ९० मिनेटको समय १–१ गोलको खेल बराबरी भएपछि थप गरिएको ३०मिनेटको अतिरिक्त समयको अन्त्यतिर ११९औं मिनेटमा सिक्किमका आर्दश तामाङले विजय गोल गरे। सिक्किमका जसमान गुरुङलाई एनआरटीका खेलाडीले फल खेलेपछि रेफ्री श्रवण लामाले फ्रिकिक दिएका थिए। आर्दशले प्रहार गरेको फ्रिकिक बलले जाली चुमेको थियो। टिमको जितमा सिक्किमका आर्दश खेलको प्लेयर अफ द म्याच घोषित भए। उनले नगद ११ हजार पाए।

8एनआरटीले आक्रामक खेल पस्किँदै आधा दर्जन बढि गरेको पोस्ट आक्रमणलाई सिक्किमका प्रिसोले विफल पारेर टिमलाई अन्तिम चारको यात्रा गराए। एनआरटीका  रिचार्डले खेल शुरु भएको ७ औं मिनेटमा प्रहार गरेको बेल सिक्किमका प्रिसोले उत्कृष्ट बचाए। त्यसलगत्तै शिशिर लेखीले प्रहार बाहिरयो। २१ औ मिनेटमा एनआरटीका अफिज ओलावालेले प्रहार सिक्किमका किपर प्रिसोले उत्कृष्ट बचाए।  

२९औ मिनेटमा सिक्किमका आदर्श तामाङले ३० यार्डदेखि गरेको प्रहार एनआरटीका गोलकिपर प्रमिजय गच्छदारले पञ्च गरेर बल बारमाथिबाट फालिदिए। पहिलो हाफको अतिरिक्त समयको एक मिनेटमा मध्यभागबाट बललाई वान भर्सेस वानमा लगेर एनआरटीका आफिज ओलावाको डिबक्स नजिकबाट गरेको प्रहार सिक्किमको किपर प्रिसोले गोल हुनबाट बिफल पारिदिए। खेलको अत्यमा शिशिरले डिबिक्स भित्रबाट गरेको प्रहार बाहिरिँदा खेल बराबरीमा ल्याउने सुन्दर अवसर चुकाए। 

हारपछि एनआरटीको प्रशिक्षक जीवन सिङकेमनले खेलाडीबीच आन्तरिक तालमेल नमिलेको कारणले पराजय भोग्नु परेको बताए। ‘आइतबार दुईजना खेलाडी काठमाण्डौ जानुपर्ने बाध्यता पनि भयो। दुई खेलाडी नभएको कारणले पनि हार भयो,’ उनले भने। 

जितपछि सिक्किमका प्रशिक्षक कुञ्जन भुटिया खेलाडीले उत्कृष्ट प्रर्दशन गरेकारले जित निकाल्न अतिरिक्त समय पर्खिनुपरेको बताए। 

सोमबारको खेल इटहरी गोल्डकपको बिजेता चर्च व्वाईज युनाइटेड र विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफबीच हुनेछ।