इटहरी /उभौली पर्वको शुभकामना आदानप्रदान गर्दै नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ प्रदेश सभा क, ख तथा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. १ मोरङका ऐतिहासिक प्रथम अधिवेशन केराबारीमा सम्पन्न भएको छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ क्षेत्रिय कार्यसमिति क्षेत्र नं. १ मोरङको आयोजनामा उक्त अधिवेशन सम्पन्न भएको हो । 

नेपाली कांग्रेसले आदिवासी जनजातीहरुको पहिचानको युद्धलाई उत्थान गर्दैन भनेर बारम्बार विपक्षीले प्रहार गरिरहेता पनि आज आदिवासी जनजातीलाई एक गर्न नेपाली कांग्रेस लागि परेको र लाखौं आदिवासीलाई एउटै संगठनमा आवद्ध गर्न सफल भएको पूर्व युवा तथा खेलकुद मन्त्री र नेपाली कांग्रेस मोरङ जिल्ला सभापति डिकबहादुर लिम्बुले जानकारी गराए ।

नेपाली कांग्रेसमा आवद्ध युवा तथा कुनैपनि नागरिकलाई निराश नहुन समेत उनले आग्रह गरे । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ युवाको लागि एक राम्रो प्लेटफर्म भएको जसको सही परिचालन गरेर देशमा रोजगारीको सिर्जना गर्नुका साथै आर्थिक रुपमा सबल र सक्षम हुन सक्ने उनले बताए । 

विभिन्न जाती, भाषा, धर्म र वर्गको मान्छे भएता पनि पूर्वको मेचीदेखि पश्चिमको महाकाली र तराई देखि हिमाल सम्मको सम्पूर्ण व्यक्तिहरुलाई नेपाली कांग्रेसको संगठनले समेटेर लैजाने जिकिर समेत गरे । जनताको आवाज र समस्यालाई सदनसम्म पु¥याउन माओवादीले धोका दिएको कारण हिजोको दिनमा उत्थान गर्न नसकेको र आगामी दिनमा पुन सदनमा पुगेर पहिचान सहितको मुद्दालाई उत्थान गर्ने उनले दावी गरे । आफ्नो पार्टीले जनतालाई दिएको बचन अझैसम्म नभुलेको र पूरा गरेर नै छोड्ने विश्वास सम्म दिलाउन भ्याए । 

आदिवासी जनजातीको पहिचानको मुद्दाहरुलाई नेपाली कांग्रेसका पार्टीसँग समन्वय गरेर लैजाने हो भने पहिचानवादीका हरेक मुद्दाहरु सफल हुने कार्यक्रमका अध्यक्ष विमल राईले बताए । आदिवासी जनजाती युवाहरु  विगठित नभईकन एउटै पार्टीमा आवद्ध हुनुपर्ने समेत उनको भनाई थियो । 

भ्रष्टचारीलाई जेल हाल्ने, नातावाद, कृपावाद र गुटबन्दीलाई त्यागेर नेपाली कांग्रेस सच्चिनुपर्ने क्षेत्र नं. १ का सभापति शंकर राईले बताए । बिराटनगरमा बस्नेले जति सेवा सुविधा पाएका हुन्छन् त्यति नै मोरङका उत्तरी क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरुले पनि पाउनुपर्ने लँडाई रहेको र सबै प्रकारको क्रान्तिको अन्त्य भएको अब भने कांग्रेसले आर्थिक क्रान्ति गर्नैपर्ने राईले बताए । 

कस्तुरीको बिना आफैसँग भएको हुँदा नेपाली कांग्रेसले अरु पार्टीसँग आफ्नो झण्डा मिसाइराख्नु नपर्ने नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ मोरङका सभापति रेखबहादुर तामाङ्ले बताए । 

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ क्षेत्र नं. १ क, ख र क्षेत्रीय अधिवेशनबाट चक्रमान तामाङ्को नेतृत्वमा प्रदेश क समिति र रबिन लिम्बुको नेतृत्वमा प्रदेश ख समिति गठन भएको छ । क्षेत्रीय कार्य समितिमा भने असहमति भएको हुँदा कार्यसमिति चयन गर्न सकेको छैन ।