इटहरी/ प्राचीन काल देखी बसोबास गर्दै आएका थारुलाई पहिलो जाति घोषणा गरेको इटहरी उप–महानगरपालिकाले उनिहरुको आस्थाको धरोहर ग्रामथानको संरक्षण र पुननिर्माण शुरु गरेको छ। 

चालु आर्थिक वर्षमा ग्रामथानहरुको अवस्था पत्ता लगाई तिनीहरूको अवस्था अनुसार गर्नुपर्ने पुनर्निर्माणका काम भइरहेको उप–महानगरले जनाएको छ। सो अनुसार बिभिन्न वडा वडामा बजेट विनियोजन भई पुनर्निर्माणको काम हुँदै छ भने नगर स्तरीय बजेटबाट पनि पुननिर्माणका लागि काम हुँदै छन्। 

इटहरीको वडा नम्बर ८ मा रहेका ५ वटा ग्रामथान मध्ये अघिल्लो आर्थिक बर्षमा ४ वटाको पुननिर्माण सम्पन्न भएको वडाध्यक्ष रोहित चौधरीले जानकारी दिनुभयो। उहाँका अनुसार चालु आर्थिक बर्षमा एक ग्रामथानको पुनर्निर्माणको काम चलिरहेको छ। 

यस्तै वडा नम्बर १८ मा रहेका ८ वटा ग्रामथानको घेरा बेरा लगाउने र आरसिसी ढलान गरी नयाँ निर्माणको काम सकिएको वडाध्यक्ष राम कुमार चौधरीले जानकारी दिनुभयो। अघिल्लो आर्थिक बर्षमा नै सबै थानहरूलाई नयाँ निर्माण गरी ढलान गरेको उहाँले जानकारी दिनुभयो।

gramthan  (1)वडा नम्बर १६मा रहेका ग्रामथानहरूको पनि पुननिर्माणको काम भएको वडाध्यक्ष तेज नारायण चौधरीले जानकारी दिनुभयो। ग्रामथानको संरक्षण गर्ने काम उप–महानगर र वडा कार्यालयहरूले संयुक्त रूपमा भईरहेको उहाँले बताउनुभयो।

यता, इटहरीको मुख्य चोकमा रहेको विच्छुधामी ग्रामथानको पनि पुनर्निर्माण सकिएको छ। इटहरी वडा नम्बर ६ धरान रोडमा रहेको सो ग्रामथान निर्माण गर्न वडा कार्यालयले २ लाख बजेट विनियोजन गरेको थियो। 

सो बजेटमा दाताहरूसँगको सहयोगका आधारमा ग्रामथानलाई पुरानै शैलीमा निर्माण गरिएको निर्माण उपभोक्ता समितिकी अध्यक्ष सुशिला चौधरीले जानकारी दिनुभयो। सो ग्रामथान निर्माणमा करिब ६ लाख बढि खर्च भएको उहाँको भनाई छ। नगर स्तरीय बजेट बाट नै इटहरी वडा नम्बर ४चौधरी टोलमा रहेको पोखरीलाई इँटाको वालले घेराबारा गर्ने काम भएको छ।  

अहिले अन्य वडाहरूमा पनि जीर्ण बनेका थान तथा ग्रामथानहरूको पहिचान गरी पुननिर्माणको काम भईरहेको उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले जानकारी दिनुभयो।

कति छन् ग्रामथान कस्तो छ अवस्था ? 

इटहरीमा कति ग्रामथान छन्, यसको यकिन तथ्याङ्क छैन। धेरै पुराना थानहरू त लोप भएर गइसके। अतिक्रमणका कारण धेरै ग्रामथानहरू हराएका छन्। कति जीर्ण भएर लोप हुने अवस्थामा पुगेका छन्।

इटहरीका अधिकांश ग्रामथान जीर्ण अवस्थामा रहेको थारु कल्याणकारी सभा इटहरीका अध्यक्ष लक्ष्मीप्रसाद चौधरीले जानकारी दिनुभयो। पहिले १, २ बिगाहामा रहेका थानहरू अहिले २, ३ धुरमा सीमित हुन पुगेका अध्यक्ष चौधरीको भनाई छ।  

इटहरी ५आनन्द मिल छेउमा रहेको ग्रामथान अहिले अढाई धुरमा सीमित भएको उहाँले बताउनुभयो। केही समय अघि त्यस थान वरिपरि करिब ४ कट्ठा जग्गा रहेको उहाँको भनाई छ। 

यस्ता थुप्रै उदाहरण आफूले ग्रामथानको अनुगमनका क्रममा भेटेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो। थारु कल्याणकारी सभा नगर समितिले पनि ग्रामथानको तथ्यांक संकलनको काम गरिरहेको उहाँले बताउनुभयो।

gramthan  (2)ग्रामथान जीर्ण भएर हराउने, जग्गा जमिन भू माफियाले कब्जा गर्दा लोप भएका छन्। संरक्षणका लागि तीव्र दबाब आएपछि इटहरी उपमहानगरले ग्रामथानको सूचीकरण गर्न थालेको छ। 

कुन वडामा रहेका ग्रामथान कुन अवस्था छन्, जग्गा जमिन कति छ, मेला पर्व, पुजारीको अवस्थासहित सबै विवरण उल्लेख गरी सम्बन्धित वडा कार्यालय तथा नगरपालिकामा सूचीकरण गर्न थालिएको प्रमुख प्रशाकीय अधिकृत रामचरित्र मेहताले जानकारी दिनुभयो।

उप-महानगरको परिपत्रपछि हाल सम्म २९ वटा ग्रामथान सूचीकरण भएका छन्। अझै धेरै ग्रामथानहरु सूचीकरण हुन बाँकी रहेकाले सूचीकरणको काम जारी नै रहने प्रमुख प्रशासकीय अधिकृत मेहताले बताउनुभयो। ग्रामथानहरू पूर्ण रूपमा संरक्षण नहुन्जेल सम्म सूचीकरण र पुनर्निर्माणका कामहरूले प्रत्येक वर्ष निरन्तरता पाउने मेहताको भनाई छ। 

के हो ग्रामथान ? 

संस्कृति अनुसार मानिसको जीवनपद्धति चल्छ। संस्कृति प्रकृति प्रदत्त चिज होइन। यो मानव निर्मित हो। तर प्रकृतिसँगै हुन्छ। थारु समुदायको आफ्नै संस्कार, संस्कृति छ। थारु समुदायले आफ्ना कुल, पितृहरूको सम्झना गर्दै सामूहिक रूपमा पूजा गरिने स्थललाई ग्रामथान भन्दछन्। हेर्दा सामान्य लाग्ने बाँसको टाटीले बारेको, टिनको छानो भएको, स साना घरहरू हुन। त्यहाँ भित्र माटोको ढिस्को हुन्छ। तिनीहरूको पूजा प्राकृतिक रूपमा गरिन्छ। त्यसैले थारुहरू प्रकृति पूजक हुन्। 

जन्मदेखि मृत्यु संस्कार सम्ममा ग्रामथान नभई हुन्न। ग्रामथानमा देवताको बास हुने भएकाले थारुहरूले सामूहिक पूजा गर्छन्। ग्रामथान जन्म, विवाह, पूजा पाठ र मृत्युको संस्कारसँग पनि जोडिने थारु नेता तथा १६नम्बर वडाका अध्यक्ष तेज नारायण चौधरीले जानकारी दिनुभयो।

आँफुहरुको आस्था विश्वास सबै ग्रामथानमै रहेको उहाँले बताउनुभयो। ग्रामथानमा नै प्रत्येक वर्ष बैशाख महिनामा पूजा गर्ने र मेला लाग्ने अध्यक्ष चौधरीले जानकारी दिनुभयो।

यसरी पूजा गर्दा फूल घडा, पानसुपाडी चढाउने गर्दछन्। प्राय सबै ग्रामथानमा ठुलो मेला( धाम) लाग्छ। यस्ता मेलामा जुलवीको बिशेष महत्व रहने गर्दछ। वैशाख महिना भर थानहरूमा मेला लाग्ने गर्दछ। 

ग्रामथान प्राय गाउँको बीचमा, खेतको बीचमा हुन्छन्। जहाँ पोखरी, ठुला ठुला रुख बिरुवा हुन्छन्। यिनीहरूको आ–आफ्नै महत्व रहेको छ। लामो समय सम्म संरक्षण नहुँदा यस्ता थानहरू पुराना र जीर्ण भएका छन्। उनीहरूको नाममा रहेका जग्गामा बिद्यालय, स्वास्थ्य चौकी, सामुदायीक भवन बनाइएको छ। 

अर्को तर्फ ग्रामथानको जग्गा भू माफियाले आफ्नो नाममा नामसारी गरी बिक्री वितरण गर्ने गरेका छन्। जसले गर्दा ग्रामथान लोप हुने अवस्थामा पुगेका छन्। 

नयाँ योजना ल्याउँदै उपमहानगर 

चालु आर्थिक वर्षमा थारु समुदायको उत्थान तथा आर्थिक बिकासका कार्यक्रम सञ्चालनको तयारी अन्तिम चरणमा रहेको उपमेयर संगिता चौधरीले जानकारी दिनुभयो। एप–महानगरमा थारु जातिको उत्थानका लागि एक छुट्टै समिति गठन गरिएको छ। सो समितिको संयोजक उपमेयर आँफै हुनुहुन्छ। यहि समितिमार्फत कार्यक्रम सञ्चालनको तयारी भईरहेको उपमेयर चौधरीले जानकारी दिनुभयो।

थारु जातिको उत्थानका लागि चालु आर्थिक वर्षमा ५०लाख बजेट विनियोजन गरिएको छ।सोही बजेटबाट कार्यक्रम सञ्चालन हुनेछ। यस वर्ष मुख्य ५वटा कामलाई प्राथमिकतामा राखि काम थालिएको उपमेयर चौधरीले जानकारी दिनुभयो। पहिलो ग्रामथानहरूको संरक्षण तथा पुनर्निर्माण, दोश्रो थारुको जनगणना, तेश्रो थारु बिद्यार्थीका लागि लोकसेवा कक्षा सञ्चालन, चौथो थारु होमस्टे सञ्चालन र पाँचौँ अभिमुखीकरण तथा क्षमता अभिवृद्धि कार्यक्रम छन्। 

विनियोजित ५० लाख बजेट मध्येबाट २० लाख रकम ग्रामथानको संरक्षणका लागि खर्च गरिने र बाँकी अन्य शीर्षकमा खर्च गरिने उपमेयर चौधरीको भनाई छ। उल्लेखित कामहरू थारु कल्याणकारी सभासँगको साझेदारीमा सञ्चालन गरिने उपमेयर चौधरीले जानकारी दिनुभयो।

इटहरीमा थारु कति छन् यकिन तथ्याङ्क पत्ता लगाउन आन्तरिक जनगणना गर्ने समितिको योजना छ। राष्ट्रिय जनगणनाले निकालेको इटहरीको थारुको संख्यामा चित्त नबुझेकाले आफैले थारुको जनसंख्या पत्ता लगाउन जनगणना गर्ने तयारी गरेको थारु कल्याणकारी सभाका नगर अध्यक्ष लक्ष्मी प्रसाद चौधरीले जानकारी दिनुभयो।

इटहरीका वडा नम्बर १०, ११, १२ र १७मा थारु होमस्टे सञ्चालन गरिने उपमेयर संगिता चौधरीले बताउनुभयो। होमस्टे सञ्चालनका लागि सो वडाबाट प्रस्ताव आएको उहाँको भनाई छ। 

थारुको जातीय संस्कार, संस्कृति, रहनसहन, परम्परा, खानाका परिकार, गीत संगितलगायत सबै विषयलाई समेटेर होमस्टे सञ्चालन गरिने छ। यस्तै, थारु बिद्यार्थीलाई सरकारी सेवामा प्रोत्साहन गर्न लोक सेवा तयारी कक्षा सञ्चालन गरिने जनाइएको छ। 

थारु महिलाहरूको सिप र कलालाई आर्थिक उपार्जनमा रुपान्तरण गर्न सिपमूलक तालिम तथा अन्य क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने उपमेयरको योजना छ। तर यी सबै कार्यक्रम सञ्चालनका लागि बजेट अपुग हुने उपमेयरले चौधरीले बताउनुभयो। आगामी आर्थिक वर्ष यो शिर्षकमा बजेट थप गर्नुपर्ने उहाँको माग छ।