बिराटनगर/ मच्छिन्द्र फुटबल क्लब काठमाण्डौ बिराटनगरमा जारी आठौँ बिराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। सिक्किम ड्रागनलाई १–०ले हराउँदै मच्छिन्द्र फाइनल पुगेको हो।

सहिद रङ्गशालामा बिहीबार राति सम्पन्न सेमिफाइनल खेलमा पाहुना टोली सिक्किम ड्रागनलाई मच्छिन्द्रले स्तब्ध बनाएको हो। सिक्किमबिरुद्ध कठिन जित निकालेको मच्छिन्द्रले उपाधि रक्षाका लागि घरेलु टोली साङ्ग्रिला मोरङ एफएसँगको भिडन्त पक्का गरेको छ।

उपाधि रक्षाका लागि भोलि शनिबार मच्छिन्द्र र साङ्ग्रिलाबीच प्रतिस्पर्धा हुने छ । सशस्त्र प्रहरी बलको विभागीय टोली एपीएफलाई बुधबार सडनडेथमा पराजित गर्दै साङ्ग्रिला फाइनलमा पुगेको थियो।

प्लेयर अफ दी म्याच बनेका मच्छिन्द्रका आयुष घलान नायक बने । उनले खेल प्रारम्भ भएको ९४ औँ मिनेटमा निर्णायक गोल गर्दै टिमको जित निश्चित गरेका थिए। घलानले  ११ हजार रुपैँया नगद पुरस्कार प्राप्त गरेका छन्।

गोल्डकप बिजेता टोलीले ट्रफीसहित ११ लाख रुपैँया र उपविजेताले पाँच लाख ५० हजार रुपैँया पुरस्कार प्रदान गरिने आयोजक बिराट गोल्डकप ट्रष्टले जनाएको छ।