सुनसरी/ १४औँ अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता आजदेखि शुरु हुदैछ। यसबर्षदेखी रात्रिकालिन समयमा शुरु गरिन लागेको गोल्डकपको उद्धघाटन खेल साढे ६ बजेपछि शुरु हुनेछ।

शनिबारको उद्धघाटन खेल बिभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ र साबिक बिजेता सगरमाथा युथ क्लब मोरङबीच हुनेछ। प्रतियोगिता इटहरी रंगशालामा साँझ साढे ६ बजेपछी फ्लड लाइटमा शुरु हुने आयोजक राष्ट्रिय जागृती क्लब इटहरीले जनाएको छ। 

सगरमाथा १२ औं र १३ औं संस्करणको च्याम्पियन हो। १२ सँस्करणमा त्रिभुवन आर्मीलाई पेनाल्टी सुट आउटमा ४–३ गोल अन्तरले र १३ औं मा चर्च व्बाईज युनाइटेडलाई पनि पेनाल्टी सुटआउटमै ६–५ गोल अन्तरले पराजित गर्दै सगरमाथाले लगातार दोस्रो पटक उपाधी उचालेको थियो। आजको खेलमा पनि बिजयी शुरुवात गर्दै सगरमाथा इटहरी गोल्डकपको उपाधी ह्याटिक गर्ने होडमा हुनेछ। 

पहिलो पटक सहभागीता जनाएको एपीएफ पनि गोल्डकपमा सुखद सुरुवात गर्ने दाउमा हुनेछ। एक सातासम्म चल्ने गोल्डकपमा एक भारतीय टिमसहित नेपालका ७ टिम गरेर ८ टिमको सहभागिता छ। 

प्रतियोगिताको बिजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैया र सर्वाधिक गोलकर्ताले २५ हजार पुरस्कार पाउने क्लबका उपाध्यक्ष केशव कार्कीले जानकारी दिनुभयो।