सतिसाले/ केराबारी गाउँपालिकाले सेतो भटमास खेतीलाई प्रवर्धन गर्ने भएको छ। गाउँपालिकामा सेतो भटमासको उत्पादनसँगै बजार पनि राम्रो भएकोले प्रवद्र्धन गर्न लागेको हो। 

गाउँपालिकाको कृषि तथा सहकारी शाखाका अधिकृत टेकप्रसाद बास्तोलाले गाउँपालिकाले प्रदेश सरकारको शर्सत अनुदानको बजेटमार्फत सो कार्यक्रम सञ्चालन गर्न लागेको बताउनुभयो। बास्तोलाले सो कार्यक्रमको लागि चालु आर्थिक बर्षमा करिब १०लाख रुपैयाँ बजेट बिनियोजन भएको बताउनुभयो।

सेतो भटमास प्रवद्र्धनका लागि गाउँपालिकाले ७५प्रतिशत अनुदानमा बीउ तथा सामग्री वितरण गरिने उहाँको भनाइ छ। क्लष्टर क्षेत्रमा भटमास उत्पादन गर्ने समूह तथा कृषकलाई प्राथमिकतामा राखी बीउ तथा सामग्री वितरण गर्ने तयारी गाउँपालिकाको छ। 

उहाँले स्थानीय बासिन्दाको मागको आधारमा गाउँपालिकाले बीउ तथा सामग्री वितरण गर्नेछ। गाउँपालिकाले करिब डेढ टन भटमासको बीउ वितरण गर्ने अनुमान गरेको जानकारी दिनुभयो।

गाउँपालिकामा पहाडी तथा तराई क्षेत्र भएकोले सेतो र कैलो भटमासको उत्पादन राम्रो हुने गरेको उहाँले जनाउनुभयो। उहाँले स्थानीय बासिन्दाले मकै बारी भित्र, धान रोपेको खेतको आलीमा तथा पाखो बारीमा भटमास लगाउँदै आएको बताउनुभयो। उहाँका अनुसार करिब एक हजार ५०० देखि दुई हेक्टर क्षेत्रफलमा भटमास  खेती हुँदै आएको छ। 

गाउँपालिकामा उत्पादन भएको भटमासको बजारीकरणसमेत राम्रो रहेको उहाँले बताउनुभयो। पालिकामा उत्पादित भटमास स्थानीय स्तरमै उपयोग हुने उहाँको भनाइ छ। 

गाउँपालिकामा  उत्पादन भएको भटमास दाना उद्योग तथा स्वयाबिन तेल उद्योगमा खपत हुन्छ, उहाँले भन्नुभयो केही उद्योगले प्रदेश सरकारसँग समन्वय गरी भटमास खरिद गर्न लागेको छ।