एजेन्सी । पाकिस्तान क्रिकेट टोलीका पूर्वकप्तान शोएब मलिकले शनिबार तेस्रो विवाह गरेको घोषणा गरेका छन्। यसपछि सानिया मिर्जाका बुवाले आफ्नी छोरीले  ‘खुला’ लिएको बताएका छन्। इस्लाममा ‘खुला’ भन्नाले आफ्नो पतिलाई स्वेच्छाले छाड्ने महिलालाई बुझिन्छ।

शोएब मलिकले शनिबार आफ्नो सामाजिक सञ्जाल ह्यान्डलमा पोस्ट गर्दै पाकिस्तानी अभिनेत्री सना जावेदसँग आफ्नो विवाहको घोषणा गरेका हुन्।पाकिस्तानका पूर्व क्रिकेट कप्तान शोएब मलिकले आफैँले आफ्नो इन्स्टाग्राम च्यानलमा यो विवाहको तस्बिर पोस्ट गरेका छन्।२८ वर्षीया सना जावेद पाकिस्तानका धेरै शो र म्युजिक भिडिओमा देखा परेकी छन्।

२०१० मा मलिकले भारतीय टेनिस स्टार सानिया मिर्जासँग विवाह गरेका थिए, उनीहरूको एक छोरा पनि छ।मलिकको घोषणापछि सानिया मिर्जाका बुवा इमरान मिर्जाले यो विवाहअघि नै उनकी छोरी र ४१ वर्षीय पूर्व क्रिकेटर मलिकले ‘खुला’मार्फत डिभोर्स लिएको बताएका थिए।

तीन दिनअघि अर्थात् बुधबार सानिया मिर्जाले एक अस्पष्ट सन्देश पोस्ट गरेकी थिइन्।त्यसपछि शोएब मलिकसँग उनको सम्बन्ध बिग्रिएको वा दुवैको सम्बन्ध विच्छेद भएको हुनसक्ने अनुमान सुरु गरिएको थियो। सानियाले लेखेकी थिइन्, ‘विवाह र सम्बन्धविच्छेद दुवै गाह्रो छ, तपाईंले आफ्नो कठिन विकल्प रोज्नुपर्छ।’सानियासँग भन्दा अघि पनि शोएबले विवाह गरेको बताइन्छ।