काठमाडौँ । चलचित्र विकास बोर्ड अन्तर्गतको ‘आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति’ को संयोजकमा निर्माता ज्योति राई नियुक्त भएका छन् । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले राईलाई उक्त समितिको संयोजक नियुक्त गरेका हुन् ।

राईले यसअघि पनि  समितिमा एक कार्यकाल संयोजक र एक कार्यकाल सदस्य भएर काम गरेका थिए । हाल उनी आदिवासी जनजाति चलचित्र महासङ्घ प्रदेश १ को अध्यक्ष र नेपाल चलचित्र निर्माता संघको कोषाध्यक्ष पनि हुन् ।

आदिवासी  जनजाति चलचित्र महासंघको सिफारिसमा राई संयोजक नियुक्त भएका हुन् । सात प्रदेशका विभिन्न १६ जातीबाट सिफारिस भएर आएका विभिन्न व्यक्ति मध्येबाट आदिवासी जनजाति महासंघले चलचित्र विकास बोर्डलाई एक व्यक्ति संयोजक र अरू सदस्यहरूका लागि सिफारिस गर्ने सोहीअनुसार बोर्डले संयोजक नियुक्त गर्ने प्रावधान छ ।

बोर्डले राईको नेतृत्वमा एक समिति समेत बनाएको छ । जसको सदस्यमा अमर लामा, रविन गुरुङ, विकास मगर, लक्ष्मी योङ्गहाङ, सगिना सुनुवार, अमृतामाया माझी रहेका छन् र हरिसिंह  रैखोला समितिको सदस्य सचिव रहेका छन् ।

समितिले देशभर छरिएर रहेका आदिवासी  चलचित्रकर्मीको व्यक्तित्व विकास, आदिवासी चलचित्रको प्रवर्द्धन र बजार बिस्तार गर्दै सक्षम बनाउने काम गर्छ ।

आफ्नो कार्यकालमा विभिन्न भाषामा निर्माण हुने चलचित्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने, नीतिगत रूपमा समेत सक्षम बनाउने मुख्य लक्ष्य लिएको संयोजक राईले बताए । ‘हाम्रो भाषा, संस्कृति र कल्चरलाई समेत फिल्मको मध्यम बाट समेट्न प्रोत्साहन गर्नेछु’ राईले थपे ।

संगम, त्रिवेणी, पापी मान्छे, वान वे प्रोडुसरका निर्माता समेत रहेका राईले पछिल्लो समय निर्माण गरेको फिल्म ‘लुङ्गा’ हो । जुन केही अगाडि मात्र प्रदर्शनमा आएको थियो । फिल्मका अलवा राईले दुई थोपा आँसु, साइनो कस्तो कस्तो, माई वेस्ट फ्रेण्ड, डामाडोल लगायत निर्माण गरेका छन् । राई अहिले नयाँ फिल्म निर्माणको तयारीमा पनि छन् ।