धरान । डाक्टर र कर्मचारीहरुको आन्दोलनका कारण सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वास्थ्य सेवा फेरि ठप्प भएको छ । आइतबारदेखि सबै काम छाडेर डाक्टर र कर्मचारी नै आन्दोलनमा उत्रिएपछि उपचारका लागि आएका सयौं बिरामी विनाउपचार घर फर्कन बाध्य भएका छन् ।

प्रतिष्ठानको व्यवस्थापन पक्षले बढुवा प्रक्रिया अगाडि नबढाएको भन्दै आइतबारदेखि काम छाडेर डाक्टर र कर्मचारी आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् ।

आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारीहरु प्रतिष्ठानको उपकूपति कार्यालय अगाडि धर्नामा बसेका थिए । कर्मचारीहरु बिरामीको पूर्जा काट्ने विल काउण्टर बन्द गरेर तथा डाक्टरहरु बिरामी जाँच्न छाडेर धर्नामा बसेका छन् । चिकित्सक र कर्मचारीहरुले एकैसाथ आन्दोलन थालेपछि प्रतिष्ठानको आकस्मिकबाहेकका सबै सेवा ठप्प भएको हो ।

आन्दोलनरत चिकित्सक र कर्मचारीलाई काममा फर्काउन प्रतिष्ठान व्यवस्थापन पक्षले पहल गरेको छैन् । प्रतिष्ठानमा कामु उपकुलपति डा.प्रल्हाद कार्कीको कारण प्रतिष्ठानको काम ठप्प हुने अवस्था आएको आन्दोलनकारीले बताएका छन् ।

प्रतिष्ठानका पदाधिकारीबीच नै आपसी समन्वय नहुँदा प्रतिष्ठानको अवस्था कमजोर बनेको छ । व्यवस्थापन पक्षले चिकित्सकहरुको बढुवा प्रक्रिया अगाडि नबढाएका कारण काम छाडेर आन्दोलनमा उत्रनु परेको प्रतिष्ठानको शिक्षक कल्याण समाजका उपाध्यक्ष डा.प्रदिप आचार्यले बताए । अवकास भइसकेका डा.प्रल्हाद कार्कीलाई स्वास्थ्यमन्त्री मोहन बस्नेतले कामू उपकूलपतिको जिम्मेवारी दिएको भन्दै डाक्टर र तथा कर्मचारीले उनले पदत्याग गर्नुपर्ने मागसमेत गर्दै आएका छन् ।

प्रतिष्ठानको कर्मचारी कल्याण समाजकी अध्यक्ष कविता ढकालले उपकूलपतिको जिम्मेवारी लिएका कार्कीको कारण प्रतिष्ठानमा समस्या सिर्जना भएको बताएकी छन् । कार्कीले कार्यकारिणि समितिको बैठक नबोलाएको र कार्यालयमा समेत नबसेका कारण प्रतिष्ठान सञ्‍चालनमा गम्भीर समस्या भएको उनको भनाइ छ ।

प्रतिष्ठानको स्वास्थ्य सेवा ठप्प भएको विषयमा कुरा गर्ने प्रयास गर्दा उपकूलपतिको जिम्मेवारीमा रहेका कार्की सम्पर्कमै आउन चाहँदैनन् ।

यसैबीच प्रतिष्ठानको समस्या समाधानमा चासो नदिएको भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले सोमबार कायम मुकायम उपकुलपति कार्कीको कार्यकक्षमा ताला लगाएका छन् । प्रतिष्ठानलाई धरासायी बनाउने कुनैपनि पदाधिकारीलाई नछाड्ने भन्दै उनले तालाबन्दी गरेका थिए ।

प्रतिष्ठानको उपचार तथा पठनपाठन पनि ठप्प भएको बेला कामु उपकुलपति कार्कीले भने रजिष्ट्रार प्रा.डा. सूर्य संग्रौलाको सम्पूर्ण अधिकार फिर्ता लिएका छन् । प्राडा संग्रौलालाई पुस २९ गतेदेखि लागुहुने गरी कामु उपकुलपति कार्कीले वीपी प्रतिष्ठानको नाम मात्रको रजिष्ट्रार पदमा सीमित गरेका हुन् ।

कार्कीले प्रतिष्ठानका ११ विभागीय प्रमुखहरुलाई समेत जिम्मेवारीबाट हटाएका छन् । वीपी प्रतिष्ठान ऐन २०४९ ले उपकुलपतिलाई अधिकारसम्पन्न र सर्वेसर्वा बनाएकोले उनले त्यसकै प्रयोग गरेका हुन् ।

शिक्षक कर्मचारीको बढुवाको सम्बन्धमा सरोकारवालासँग बसेर निर्णय गर्न आफूले भनेपछि प्रतिष्ठान बाहिरै बसेर कार्कीले पत्र पठाएको रजिष्ट्रार संग्रौलाले बताए । कार्कीले भने शिक्षक कर्मचारीको बढुवा प्रक्रियाका लागि लोकसेवा आयोगको स्वीकृति अनिवार्य चाहिने भन्दै तत्काल अगाडि नबढाउने बताएका छन् ।

प्रतिष्ठानमा करिव सात बर्षदेखि चिकित्सक शिक्षकको र १५ बर्षदेखि कर्मचारीको रोकिएको पदोन्नति प्रक्रिया सुरु गर्न गत बर्षको पुस १९ गते चिकित्सक र कर्मचारीको पदोन्नतिका लागि विज्ञापन खुलेपछि प्रक्रिया चलिरहेको थियो । पदोन्नति हुनुपर्नेमध्ये आधा चिकित्सक, शिक्षक र कर्मचारीको अन्तवार्ता सकिएकोमा कार्की कामु उपकुलपति भएर आएपछि सबै प्रक्रिया रोकिएको छ ।

शिक्षक कल्याण समाजका अध्यक्ष डा.सेराज अहमद खानले कामु उपकुलपति कार्कीले आफू अनुकुलका व्यक्ति तयार गर्न प्रतिष्ठानका ११ विभागीय प्रमुखलाई पनि जिम्मेवारीबाट हटाएको बताए ।