काठमाडौं / जिल्ला अदालत कास्कीले सहकारी ठगी मुद्दाका फरार आरोपी गितेन्द्रबाबु राई (जीबी) को राहदानी रद्द गर्न नमिल्ने आदेश दिएको छ । राहदानी रद्द गर्न माग गर्दै जिल्ला सरकारी वकिल कार्यालयले वैशाख २८ मा निवेदन दिएको थियो । उक्त निवेदनउपर सुनुवाइ गर्दै जिल्ला न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले ‘मागबमोजिम नहुने’ आदेश आइतबार जारी गरेको हो ।

राहदानी ऐन, २०७६ बमोजिम राईको पासपोर्ट रद्द गर्न कास्की जिल्ला अदालतमा पत्राचारको व्यवस्था गरिदिन जिल्ला प्रहरी कार्यालयले वैशाख २८ मा जिल्ला सरकारी वकिल कार्यालयमा पत्राचार गरेको थियो । राईलाई सुपुर्दगी सन्धिमार्फत नेपाल झिकाउनको लागि निजले प्रयोग गरेको पासपोर्ट राहदानी ऐन, २०७६ बमोजिम रद्द गर्ने व्यवस्था गरिपाउँ भन्ने व्यहोरा निवेदनमा उल्लेख थियो ।

सहकारी ठगी मुद्दा राहदानी ऐन, २०७६ को दफा १२ को उपदफा (१) को खण्ड (ख) मा उल्लिखित मुद्दासँग सम्बन्धित नरहेकोले राहदानी रद्द गर्न नमिल्ने अदालतको आदेशमा उल्लेख छ ।