धनकुटा / १६ औं संस्करणको शहीद भीमनारायण गोल्डकप फूटबल प्रतियोगिताको उपाधि विर्तामोड युनाइटेड क्लब झापाले जितेको छ ।

धनकुटा सदरमुकाम स्थित तल्लो टुँडिखेलमा सम्पन्न प्रतियोगितामा विभागिय टीम सशस्त्र प्रहरीको एपीएफ क्लब काठमाडौंलाई ३-० गोल अन्तरले हराउँदै विर्तामोड युनाइटेड क्लब झापाले संस्करणको शहिद भीमनारायण गोल्डकपको उपाधि चुमेको हो। झापाले खेलको ५१ औं मिनेटमा कप्तान आषिश चापागाईंको मार्फत गोलको खाता खोल्यो। यस्तै ६४ औं मिनेटमा झापाकै आशिष गुरुङले अर्को १ गोल थप्दै २-० को अग्रतामा पुर्‍याए।

यस्तै दोस्रो हाफको इन्जरी समयमा झापाकै देबेन्द्र तामाङले गोल गर्दै ३-० गोलको अग्रता बनाउँदै टीमलाई जित दिलाए। त्यसपछि डिबक्स भित्र झापाका खेलाडीले फल गरेपछि पाएको पेनाल्टी प्रहार गरेका एपीएफका सुमन श्रेष्ठको प्रहार झापाका गोल किपर सन्दिप लिम्बूले रोकेका थिए। 

 विर्तामोड युनाइटेड क्लब झापा आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठानलाई ३-० गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो। यस्तै सशस्त्र प्रहरीको एपीएफ क्लब काठमाडौ सुनसरीको राष्ट्रिय जागृति क्लबलाई ट्राइबेकरमा ३-२ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो।

उपाधि बिजेता विर्तामोड युनाइटेड क्लब झापाले नगद ५ लाख रुपैयाँ तथा गोल्डकप हात पार्‍यो । उपबिजेता बनेको सशस्त्र प्रहरीको एपीएफ क्लबले नगद २ लाख ५० हजार रुपैयाँ र रनिङ्ग कपमा चित्त बुझायो। 

खेल पछि आयोजित समारोहमा बिजेता र उपबिजेता टीमलाई तथा विधागत उत्कृष्ट खेलाडीलाई धनकुटा नगरपालिकामा प्रमुख चिन्तन तामाङ पुरस्कार र प्रमाण पत्र प्रदान गर्नुभयो।