इटहरी/ अनलाईन प्रणालीबाट घर नक्साको इजाजत पत्र प्रदान गर्न शुरु गरेपछि अहिले इटहरी क्षेत्रमा घर बनाउने घरधनीहरुलाई सजिलो हुन थालेको छ।

घर नक्सा बनाउन लिनुपर्ने इजाजत पत्र अनलाईन प्रणालीबाट नै हुन थालेपछि नगरबासीहरुले फाईल बोकेर कोठा कोठा धाउनुपर्ने बाध्यता पनि अन्त्य भएको हो।

काम पनि छिटो र सजिलो तरिकाले हुन थालेको छ। एक बर्ष अघि घर बनाउन इजाजत पत्र लिन आउने नगरबासीले नक्साको फाईलमा सहि गराउन कोठा कोठा धाउनुपथ्र्याे । प्रत्येक फाँटमा भिडभाड, लाईन बस्नुपर्ने, फाईल हराउने, फाईल तलमाथी हुँदा लाईन बसेका व्यक्तिहरु बीच झगडा नै पथ्र्यो।

दैनिक जसो नक्सा बनाउन आउने सेवाग्राही र कर्मचारी बीच भनाभन हुन्थ्यो। अलि बढि भिड भएको दिनत सेवाग्राहीले ढिलो भयो भन्दै नाराबाजी नै गर्थे। 

कार्यलयका कर्मचारीहरुलाई पनि सास्ती थियो। सेवाग्राहीको भीड र फाईलहरुको थुप्प्रोमा काम गर्नु उनीहरुको बाध्यता थियो। यस्तो तनावपूर्ण वातावरणमा कर्मचारीले काम गर्नुपर्ने अवस्था थियो। 

तर पछिल्लो ९ महिना यता नगरबासीले यस्तो सास्ती भोग्नु परेको छैन । उनीहरुको काम अनलाईनबाट नै हुन्छ । कर्मचारीले पनि सहज वातावरणमा काम गर्न पाएका छन्। इटहरी उपमहानगरपालिकाले गएको बैशाख महिना देखी घर नक्सा बनाउन अनलाईन प्रणाली शुरु गरेको छ। त्यस यता नागरिकलाई इजाजत पत्र लिन सजिलो भएको छ। 

अनलाईन सिस्टमबाट काम शुरु भएपछि सेवा प्रवाहमा सुधार आएको इन्जिनियर कैलास तिम्सिनाले बताउनुभयो। अनलाईन प्रणाली राम्रोसँग सञ्चालन भईरहेको र यसले नगरबासीलाई धेरै सजिलो भएको इन्जिनियर तिम्सिनाको भनाई छ। इञ्जिनियनर तिम्सिनाले ‘अहिले कुनै पनि नगरबासीले फाईल बोकेर उपमहानगरपालिका धाउनुपर्दैन, हिजो हामी सबैले जुन अप्ठ्यारो भोग्नु परेको थियो त्यो अहिले भोग्नुपर्दैन’ भन्नुभयो।

 Kailash Timsina

कुनै कानुनी उल्झन, छिमेकी साँध सधिँयारको असहयोग वा भनौ चार किल्ला क्लियर भएको अवस्थामा सिस्टममा अपलोड भएको फाईलको काम १५देखी २० दिनभित्रमा सम्पन्न हुने इन्जिनियर तिम्सिनाले जानकारी दिनुभयो। तर जग्गामा कुनै कानुनी उल्झन आयो भने त्यसलाई व्यवस्थापन, नापजाँच गर्दा भने केही समय लाग्न सक्छ। 

पुराना फाईल नक्साको डिजिटल कपी बनाएर उपमहानगरमा राख्ने साथै एक कपि सम्बन्धित घरधनीलाई दिने योजना अनुसार काम भईरहेको उहाँले सुनाउनुभयो। 

उहाँले ‘हामीसँग थुप्पै्र पुराना फाइलहरु छन्। तिनिहरुलाई पनि डिजिटलाईज गर्ने काम अब केही समयमा सकिन्छ । त्यसपछि एक कपि फाईल सम्बन्धित घरधनीलाई बोलाएर हस्तान्तरण गर्ने हाम्रो योजना छ,’ भन्नुभयो।

अनलाईन प्रणाली शुरु भएको बैशाख महिना देखी पुष महिना सम्म ४३१ जनाले भवन निर्माण सम्पन्नको प्रमाण पत्र लिईसकेका छन । प्लिन्थ लेभल सम्मको इजाजत पत्र लिनेको संख्या २३७ छ भने प्लिन्थ लेभल भन्दा माथीको इजाजत पत्र लिने घरधनीको संख्या २४३ रहेको छ। यो अवधिमा ४०६जना घरधनीको घरको अभिलेखिकरण प्रमाण पत्र पनि वितरण गरिएको घर नक्सा शाखाले जानकारी दिएको छ। 

‘सफ्वेयरलाई थप अपडेट गर्नुपर्छ ’

इटहरी ८ मा घर बनाउन शुरु गर्न लागेका रविन लम्सालले अनलाईन सिष्टम शुरु भएपछि नक्सा बनाउन सजिलो भएको बताउनुभयो। उहाँ अहिले पहिलो चरणको निर्माण इजाजत लिएर घर बनाउन शुरु गर्दै हुनुहुन्छ।। इजाजत लिन आफु फाईल बोकेर धाउनु नपरेको उहाँले सुनाउनुभयो।

लम्सालको घरको नक्सा उपमहानगरले निशुल्क बनाईदिएको हो । उपमहानगरको घरनक्सा निर्माण शाखाले १ हजार स्वायर फिट भन्दा कमका घरको निशुल्क नक्सा बनाईदिने गरेको छ। लम्सालले पनि सोही अनुसार निशुल्क नक्सा बनाउनुभएको हो।Rabin Lamsal

निःशुल्क नक्सा बनाएर अनलाईन सिस्टममा अपलोड गरेपनि विल्डीङ स्ट्रक्चर एनालाईसिस गर्ने कर्मचारीको अभावमा भने केही दिन काम ढिलो भएको उहाँको अनुभव छ। 

स्ट्रक्चर एनालाईसिस गर्ने एक जना मात्रै कर्मचारी रहेका कारण आफ्नो काममा ढिलाई भएको उहाँले सुनाउनुभयो। 

घर नक्साको इजाजत अनलाईन वितरणमा सफल भएपछि इटहरी उपमहानगरले गएको साउन देखी निःशुल्क नक्सा पनि बनाईदिने सेवा शुरु गरेको छ। नगरबासीलाई निःशुल्क घर बनाईदिने पहिलो पालिका भएको उपमहानगरको दावी पनि छ। 

साउन महिना देखी १ हजार स्वायर फिट भन्दा साना घरको निःशुल्क नक्सा डिजाईन गरिदिएर राहत दिएको उपमहानगरको भनाई छ।

१आर्किटेक इन्जिनियर, ४सिभिल इन्जिनियर, २ सब इन्जिनियर,४ असिस्टेन्ट सब इन्जिनियर र १ अमिनसहितको प्राविधिक टोलीले नगरबासीलाई घरको नक्सा निःशुल्क डिजाईन गरिदिन्छन्।

 ghar naksa _Itahari (2)

१५ सय स्वायर फिट भन्दा माथीको भने नगरबासीले तोकिएको शुल्क तिर्नुपर्छ । अहिले दैनिक रुपमा ३ देखी ४जना नक्सा बनाउन बुझ्न आउने गरेको घरनक्सा निर्माण शाखाका प्रमुख आर्टिकेट इन्जिनियर अरुण घिमिरले जानकारी दिनुभयो। 

साउन देखी पुस २६ गते सम्मको तथ्यांक अनुसार २१४जनाले घरनक्साका लागि निवेदन दर्ता गराएका छन्। जसमा १८० घरधनीले नयाँ घर बनाउन निवेदन दिएका हुन्।

२३जना घरधनीले अभिलेखीकरणका लागि निवेदन दिएका हुन भने अन्यले तला थपको लागि निवेदन दिएको निर्माण शाखाले जानकारी दिएको छ। 

सेवाग्राहीहरुको रुचि अनुसार घरको नक्सा डिजाईन गरी हाल सम्म ९५जनाको सिस्टममा अपलोड भईसकेको घरनक्सा निर्माण शाखाका प्रमुख इन्जिनियर घिमिरेले जानकारी दिनुभयो।

 Arun Ghimire

सेवाग्राहीको चाप धेरै रहेको उहाँले सुनाउनुभयो। चाप धेरै भएका कारण टारगेट अनुसार नक्सा डिजाईन गर्न गाह्रो भईरहेको उहाँको भनाई छ । शाखाले दैनिक कम्तिमा एक घरको नक्सा डिजाईन गर्ने टारगेट राखेको इन्जिनियर घिमिरले जानकारी दिनुभयो। 

इटहरी उपमहानगरले शुरु गरेको अनलाईन सिस्टम राम्रो भएपनि अझै सुधार गर्दै जानुपर्ने नीजि क्षेत्रबाट घर नक्साको काम गर्दै आएको इन्जिनियरिङ कन्सल्टेन्ट सोसाइटी इटहरीका अध्यक्ष इन्जिनियर उमेश तुम्बाहाङले बताउनुभयो । पहिले जस्तो फाईल बोकेर हिड्नुपर्ने अवस्था अहिले नभएको उहाँले सुनाउनुभयो। अनलाईनको सफ्टवेयरमा धेरै लामो प्रोसेस(प्रकृया) रहेको, त्यसमा केही प्राविधिक समस्याहरु देखिएको जसलाई सुधार गर्दै सफ्टवेयरलाई अपग्रेट गर्नुपर्ने उहाँ सुझाव दिनुहुन्छ। 

अर्कोतर्फ निःशुल्क घर नक्सा बनाउने काममा पर्याप्त कर्मचारी नहुँदा उपमहानगरको योजनामा चुनौति देखिएको अध्यक्ष तुम्बाहाङ बताउनुहुन्छ। नक्सा डिजाईन गर्ने दक्ष कर्मचारी पर्याप्त नभएको र एक जना मात्रै स्ट्रक्चर एनालाईसिस गर्ने इन्जिनियरबाट काम गराउन खोज्दा सेवा प्रभावकारी हुन नसकेको उहाँको भनाई छ। 

‘बाहिरका कन्सल्ट्यान्सहरुमा धेरै इन्जिनियर हुँदा त स्ट्रक्चर एनालाईसिस गर्न लामो समय लाग्ने काम गर्न, एक जनामात्रै कर्मचारी छन्, कम्तीमा डेढ देखी २ दिन लाग्ने काम एक व्यक्तिले कसरी गर्न सक्छ ?अध्यक्ष तुम्बाहाङले प्रश्न गर्दै भन्नुभयो निःशुल्क घर नक्साको योजना सफल बनाउने हो भने पर्याप्त कर्मचारी राख्नुपर्छ हैन भने योजना असफल बन्न सक्छ। 

यदि नगरबासीलाई साँच्चै राहत दिने हो भने राजश्व कम गर्नुपर्ने उहाँको तर्क छ। घर निर्माणमा तिर्नुपर्ने राजश्व धेरै बढेको उहाँले बताउनुभयो।  निःशुल्क भने पनि राजश्व धेरै हुँदा नगरबासीले राहतको महसुस गर्न नसक्ने अध्यक्ष तुम्बाहाङले बताउनुभयो।Umesh Tumbahang

यता, अनलाईन सिस्टम शुरु भएपछि नगरबासीले सहज र सरल रुपमा सेवा लिन पाएको उपमहानगरपालिका नगर प्रमुख हेमकर्ण पौडेल दाबी गनुहुन्छ। ठुलो प्राविधिक चुनौतिलाई समाधान गर्दै घरनक्सालाई व्यवस्थित गर्न अनलाईन प्रणाली सफल भएको उहाँको भनाई छ।

तर निःशुल्क घर नक्सा निर्माण शाखामा पर्याप्त कर्मचारी नहुँदा भने प्रभावकारी काम निकाल्न नसकिरहेको उहाँले बताउनुभयो। ‘नेपाल भरमै पहिलो पटक इटहरीले नमुना काम शुरु गरेको हो । यो अन्त कतै छैन, हामीले शुरु गरेका छौँ।’ नगर प्रमुख पौडेलले भन्नुभयो‘अर्को तर्फ इटहरी शहर सबै ढंगबाट सुरक्षित छ, यहाँ घर बनाउनेको चाप धेरै छ, त्यसमा अझ निःशुल्क भनेपछि नगरबासीको चाप बढि हुने नै भयो, त्यस हिसाबले पनि बढि चाप परेको हो’ तर अब अपुग दक्ष कर्मचारी थप गरेर घरनक्सा शाखालाई व्यवस्थित गर्ने नगर प्रमुख पौडेलले बताउनुभयो। 

घरनक्सा शाखामा हुने भिडभाड व्यवस्थापन गर्न अनलाईन प्रणाली सफल भएको छ। नागरिकले सहज सेवा लिन पाएका छन्। नेपालभरका पालिकाहरु मध्ये पहिलो पटक निःशुल्क घर नक्सा डिजाईन गरि दिने उपमहानगरको योजनालाई सफल बनाउन भने दक्ष र पर्याप्त कर्मचारीको व्यवस्थापन गर्नुपर्ने देखिएको छ।