मुम्बई । कन्नड सुपरस्टार यश सन् २०१८ मा आएको फिल्म केजीएफबाट रातारात ‘प्यान इन्डिया’ स्टार बने । यो फिल्मपछि उनले पछाडि फर्केर हेर्नु परेन । केजीएफपछि उनी सन् २०२२ मा केजीएफ २ मा देखिए । यो फिल्म सो वर्षको सबैभन्दा धेरै कमाउने फिल्ममध्ये एक बन्यो । 

यी दुई फिल्मले यशको लोकप्रियता चुलीमा पुर्‍याइदिए । अहिले उनको हातमा ठुला बजेटका कयौँ फिल्म छन् । सुरुमा यश अभिनयको संसारमा बैंकग्राउन्ड डान्सरमा रूपमा आएका थिए । त्यसपछि उनले असिस्टेन्ट निर्देशकको रूपमा सानातिना काम गरे । यी कामका लागि उनले दिनभरमा जम्मा ५० रुपैयाँ पाउँथे । 

वर्षौँसम्म उनले टिभी एक्टरको रूपमा पनि काम गरे । अहिले उनको फिस बढेर १५० करोड भारु पुगेको छ ।

यशको हातमा यतिबेला गीतू मोहनदासको निर्देशनमा बन्न लागेको टक्सिक छ । फिल्म २०२५ मा रिलिज हुनेछ । यो फिल्ममा यशको साथमा करिना कपूर देखिने बताइएको छ । यो करिनाको कन्नड डेब्यू हुनेछ । केजीएफ सिरिजजस्तै टक्सिक पनि एक्सन थ्रिलर हुन सक्ने बताइएको छ । 

यश आफैँ पनि यो फिल्मको को–प्रड्युसर छन् । फिल्म १०० करोडभन्दा बढीको बजेटमा बन्न लागेको छ । यशलाई यो फिल्मको प्लट अति नै मन परेकोले अरू प्रोजेक्टहरूलाई साइड लगाएर सारा ध्यान यही फिल्ममा लगाइरहेको बताइएको छ ।

२०२५ मा आउनेछ केजीएफ-३

केजीएफको तेस्रो पार्ट सन् २०२५ मा रिलिज हुनेछ । गएको महिनादेखि फिल्मको प्रोडक्शनको काम सुरु भएको छ । २०२४ को अक्टोबरदेखि  फिल्मको सुटिङ सुरु हुनेछ भने फिल्म अर्को वर्ष रिलिज हुनेछ । यशले बलिउडमा पनि डेब्यू गर्दैछन् । सञ्चार माध्यमहरूमा छापिएका खबरका अनुसार उनले नितेश तिवारीको आगामी फिल्म रामायण साइन गरेका छन् । यसबारे आधिकारिक पुष्टि भएको छैन । तर स्रोतका अनुसार फिल्ममा नितेशले रणवीर कपूरलाई राम, साई पल्लवीलाई सिता र यशलाई रावणको भूमिकामा काष्ट गरेका छन् । रामायणमा यश विल्कुल नयाँ लूक्समा देखिने बताइएको छ ।

१५ करोडबाट १५० करोड पुग्यो फिस

केजीएफका लागि यशले १५ करोड पारिश्रमिक लिएका थिए । केजीएफ २ मा यो बढेर दोब्बर भयो । अब रामायणमा भने यशले १०० देखि १५० करोड भारुको माग गरेको बताइएको छ । यसका लागि उनले कम्तीमा पनि १०० करोड भारु लिन सक्ने र बाँकी पैसा उनको सुटिङ डेजमा भर पर्ने बताइएको छ ।